
काठमाडौं । एनआईसी एशिया बैंकले सञ्चालनमा ल्याएको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने अनलाइन पोर्टलमा बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरूसम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूका बारेमा विस्तृत जानकारी समेटिएको जनाएको छ ।
बैंकिङ सम्पत्ति, बैंकको नाममा रहेको गैरबैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले यो अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको हो ।
ग्राहकहरूले लिलाम बिक्रीसम्बन्धी प्रकाशित सूचनामा रहेको क्यूआर कोड स्क्यान गरी आउने पोर्टल (अक्सन एसिस्टेन्स डट एनआईसी एशिया बैंक डटकम) भित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नं. तथा क्षेत्रफलसहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेसन) पहिचानका लागि गुगल म्यापसहितका विविध जानकारीहरू प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यसरी ग्राहकले लिलाम बिक्रीमा राखेको सम्पत्तिको पूर्ण विवरण हेरेपश्चात् खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने व्यवस्था बैंकले गरेको छ ।
बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाइन पोर्टलमा नियमित रुपमा बैंकिङ सम्पत्ति, गैरबैंकिङ सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रही लिलाम बिक्रीमा रहेको सम्पत्ति र लिलाम बिक्रीसम्बन्धी अन्य सूचना प्रकाशित गरिने हुँदा इच्छुक ग्राहकले अनलाइन पोर्टलको लिंकबाटै विस्तृत विवरणको जानकारी लिई लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ ।









Facebook Comments