
काठमाडौं।लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयबारे सर्वोच्च अदालतले स्पष्टीकरण मागेको छ। नियुक्तिको वैधानिकतामाथि प्रश्न उठाउँदै दायर भएको रिटमा प्रारम्भिक सुनुवाइपछि अदालतले सरकारसहित सम्बन्धित निकायका नाममा कारण देखाउ आदेश जारी गरेको हो।
बुधबार न्यायाधीश रत्नबहादुर बागचन्दको एकल इजलासले आनी छोइङलाई कोषको उपाध्यक्षमा नियुक्त गर्नुको कानुनी आधार र औचित्य खुलाउन विपक्षीहरूलाई आदेश दिएको छ।
अदालतले नियुक्तिविरुद्ध अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने विषयमा छलफलका लागि समेत सम्बन्धित पक्षलाई उपस्थित हुन भनेको छ। यससँगै सरकारको नियुक्ति निर्णय न्यायिक परीक्षणको प्रक्रियामा प्रवेश गरेको छ।
आनी छोइङको नियुक्तिलाई लिएर नागरिकता र सम्पत्ति शुद्धीकरणसम्बन्धी विषय विवादमा रहेको अवस्थामा उनलाई सार्वजनिक पदको जिम्मेवारी दिइएको भन्दै प्रश्न उठाइएको थियो। यही विषयलाई आधार बनाएर नियुक्तिको कानुनी वैधता चुनौती दिँदै सर्वोच्चमा रिट दायर गरिएको हो।
गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा मनोनीत गर्ने निर्णय गरेको थियो। सरकारले लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ८ को उपदफा १ (ख) अनुसार उनलाई उक्त जिम्मेवारी दिएको थियो।
सर्वोच्चको कारण देखाउ आदेशपछि अब सरकारले नियुक्ति गर्दा अपनाइएको प्रक्रिया, कानुनी आधार र सम्बन्धित व्यक्तिको योग्यताबारे अदालतसमक्ष आफ्नो धारणा प्रस्तुत गर्नुपर्नेछ।
अदालतले अन्तरिम आदेशबारे छलफलसमेत तोकेकाले अबको सुनुवाइले आनी छोइङको नियुक्ति कायम रहने वा नरहने विषयमा थप कानुनी दिशा तय गर्नेछ।









Facebook Comments