काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारबाट विस्थापित भई भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासी परिवारलाई सरकारले शनिबारसम्म स्थान खाली गर्न निर्देशन दिएको छ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट बुधबार पुगेको टोलीले कृषि विकास बैंकको तालिम केन्द्रमा सूचना टाँस्दै होल्डिङ सेन्टर खाली गर्न समयसीमा तोकेको हो।

ad

प्रशासनले टाँसेको सूचनाअनुसार त्यहाँ बसोबास गरिरहेका सात परिवारका घरमूली वा परिवारका सदस्यको नाममा जग्गा रहेको सरकारी अभिलेखबाट देखिएको छ। 
भूमि व्यवस्थापन तथा अभिलेख विभाग र सम्बन्धित स्थानीय तहबाट प्राप्त विवरणका आधारमा उनीहरू भूमिहीन नरहेको निष्कर्ष निकालिएको प्रशासनको सूचनामा उल्लेख छ।

भूमि समस्या समाधान समिति, काठमाडौंले गत भदौ ९ गते पठाएको पत्रलाई आधार बनाएर भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५२क र ५२ख अनुसार ती सात परिवारलाई होल्डिङ सेन्टर छाड्न भनिएको हो।

यसैगरी, जग्गा नभएका १२ परिवारका लागि सम्बन्धित स्थानीय तहबाट जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढेको र त्यससम्बन्धी निस्सा प्राप्त भइसकेको प्रशासनले जनाएको छ। उनीहरूलाई पनि होल्डिङ सेन्टरबाट बाहिरिन सूचित गरिएको छ।

प्रशासनले जग्गा नभएका परिवारलाई सरकारले उपलब्ध गराएको घरभाडा खर्चसमेत बुझिलिन आग्रह गरेको छ। सूचनामा तोकिएको समयभित्र होल्डिङ सेन्टर खाली गर्न स्पष्ट निर्देशन दिइएको छ।

यससँगै बोडेको होल्डिङ सेन्टरमा रहेका १९ परिवारलाई बाहिरिन भनिएको छ। नदी किनारका जोखिमयुक्त बस्तीबाट हटाइएका परिवारको पुनःव्यवस्थापन र आवासको विषय भने यस निर्णयसँगै थप चासोको विषय बनेको छ।