
काठमाडौं — दसैं नजिकिँदै गर्दा चीनसँग जोडिएका नेपालका तीन प्रमुख स्थल नाका बन्द भएपछि आयात–निर्यातसँगै बजारको आपूर्ति व्यवस्था प्रभावित भएको छ। लगातारको वर्षा र त्यसबाट भएको क्षतिका कारण तातोपानी, रसुवागढी र कोरला नाकाबाट हुने स्थल व्यापार रोकिएको हो।
दसैं आउन करिब दुई साता बाँकी रहँदा चीनबाट आउने कपडा, जुत्ताचप्पल, इलेक्ट्रोनिक्स तथा विद्युतीय सवारीसाधनलगायत वस्तुको ढुवानी प्रभावित भएको व्यवसायीहरूले बताएका छन्। भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामै चीनबाट ७६ अर्ब ४० करोड रुपैयाँभन्दा बढीका वस्तु नेपाल भित्रिएका छन्।
तातोपानी–खासा नाका पहिरोको जोखिमका कारण यसअघि नै बन्द थियो। त्यसपछि भोटेकोशीमा आएको बाढीले रसुवागढी नाकाको भौतिक संरचनामा क्षति पुर्याएपछि त्यहाँबाट पनि व्यापार ठप्प भयो। यी दुई नाकाबाट आयात प्रभावित भएपछि विकल्पका रूपमा प्रयोग हुँदै आएको मुस्ताङको कोरला नाका पनि पछिल्लो बाढीपछि सडक सम्पर्कबाट विच्छेद भएको छ।
कालीगण्डकीमा आएको बाढीले कालीगण्डकी करिडोर तथा मध्यपहाडी लोकमार्गअन्तर्गतका पुलका एप्रोच सडकमा क्षति पुर्याएपछि कोरला पुग्ने सडक अवरुद्ध भएको हो। नाका र भन्सार कार्यालयमा ठूलो क्षति नभए पनि बेनी–जोमसोम सडकखण्डका विभिन्न संरचनामा क्षति पुग्दा मालवाहक सवारीको आवागमन रोकिएको छ।
तातोपानी र रसुवागढी बन्द भएपछि कोरलामा व्यापारिक चाप बढेको थियो। भदौ १० देखि २५ गतेसम्म १५ दिनमा मात्रै कोरला नाकाबाट ४३४ कन्टेनर र ६४१ वटा विद्युतीय सवारी नेपाल भित्रिएका थिए। चालु आर्थिक वर्षको भदौ अन्तिम सातासम्म मुस्ताङ भन्सार कार्यालयले २ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरिसकेको जनाएको छ।
गत आर्थिक वर्षमा यही नाकाबाट १४ अर्ब ४१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो। तीन हजारभन्दा बढी विद्युतीय सवारीसमेत यही नाकाबाट नेपाल भित्रिएका थिए। अहिले सडक अवरुद्ध भएपछि ठूलो परिमाणको मालसामान बाटोमै रोकिएको छ।
काठमाडौंका व्यवसायीका अनुसार दसैंका लागि चीनबाट मगाइएको सामानको करिब २० देखि ३० प्रतिशत मात्रै राजधानी आइपुगेको छ। आरबी कम्प्लेक्स व्यवसायी संघका अध्यक्ष परशुराम दाहालले बाँकी सामान विभिन्न सडक तथा नाकामा रोकिएको बताए।
उनका अनुसार बाटो अवरुद्ध भएपछि ढुवानी लागत बढेकाले बजारमा आउने नयाँ सामानको मूल्यसमेत बढ्ने अवस्था छ। डलरको मूल्य र यातायात खर्च बढेका कारण आयातित वस्तुको मूल्य २५ देखि ३० प्रतिशतसम्म बढ्न सक्ने व्यवसायीको अनुमान छ।
चीनबाट सामान आउन नसकेपछि केही व्यवसायीले भारत हुँदै साना सवारीमा सामान ल्याउने प्रयास गरेका छन्। तर भारतीय बजारबाट ल्याइने सामान चिनियाँ वस्तुको तुलनामा महँगो पर्ने र साना गाडीको ढुवानी खर्चसमेत बढी हुने व्यवसायी बताउँछन्।
लगातारको वर्षाका कारण सडक अवरुद्ध हुँदा काठमाडौंको थोक व्यापारमा समेत असर परेको छ। बाहिरी जिल्लाका व्यापारीहरू सामान खरिद गर्न राजधानी आउन नसकेपछि दसैंको पूर्वसन्ध्यामा बजारमा देखिनुपर्ने चहलपहल घटेको व्यवसायीहरूको भनाइ छ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठले चीनतर्फका तीनवटै नाका प्रभावित भएपछि व्यापारीसँगै समग्र आपूर्ति प्रणालीमा असर परेको बताए। उनले नाका सञ्चालनका लागि सरकारले तत्काल कूटनीतिक तथा पूर्वाधारगत पहल गर्नुपर्ने धारणा राखे।
श्रेष्ठका अनुसार कोरला नाकामा सडकसँगै भन्सार पूर्वाधार, जनशक्ति, नेटवर्क र सफ्टवेयरसम्बन्धी समस्या पनि छन्। नाकाको भौगोलिक अवस्थाका कारण ढुवानी लागत पनि उच्च रहेको उनले बताए।
मुस्ताङ भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत विदुर चुडालका अनुसार हाल भन्सार परिसरमा एक सय ५० भन्दा बढी मालवाहक गाडी तथा कन्टेनर रोकिएका छन्। यार्ड र नाकामा गरी करिब तीनदेखि चार सय विद्युतीय सवारी तथा खाली र भरिएका कन्टेनर थन्किएका छन्।
चुडालका अनुसार चीनतर्फबाट सवारीसाधनको आवागमन बढे पनि नेपालतर्फको सडक अवरुद्ध रहेकाले व्यवसायीले सामान जाँचपास गर्न हतार गरेका छैनन्। सडक विभागले अवरुद्ध सडक खुलाउन काम गरिरहेको र सडक सञ्चालनमा आएपछि रोकिएका सामान क्रमशः काठमाडौंलगायत बजारसम्म पुग्ने उनले बताए।
दसैंको प्रमुख व्यापारिक मौसम सुरु हुनै लाग्दा चीनसँगका तीनवटै स्थल नाका प्रभावित भएपछि आयातमा निर्भर नेपाली बजारले वैकल्पिक आपूर्ति व्यवस्थाको चुनौती सामना गर्नुपरेको छ। सडक र नाका तत्काल सञ्चालनमा नआए त्यसको असर दसैंको बजार र उपभोक्ता मूल्यमा समेत देखिन सक्ने व्यवसायीहरूको भनाइ छ।









Facebook Comments