काठमाडौं । नेपाल वायुसेवा निगममा कार्यरत ६ जना पाइलटले राजीनामा दिएपछि राष्ट्रिय ध्वजावाहकको व्यवस्थापन, उडान सञ्चालन र कर्मचारी सेवा सुविधामाथि प्रश्न उठेको छ।

सेवा सुविधा, नियमित उडानको अभाव तथा जहाज लामो समय ग्राउन्डेड हुँदा व्यावसायिक वृत्ति विकासमा असर परेको लगायतका कारण देखाउँदै पाइलटहरूले राजीनामा दिएका हुन्।

ad

राजीनामा दिनेमा वाइडबडीका वरिष्ठ पाइलट सञ्जय पौडेल र प्रशान्त श्रेष्ठ तथा न्यारोबडीका पाइलट मनिश विक्रम शाह छन्। उनीहरू स्थायी सेवामा कार्यरत थिए। को–पाइलटतर्फ रचेन्द्र जोशी, प्रनव मल्ल र रेश्मा सिजापतिले पनि राजीनामा दिएका छन्। उनीहरू करार सेवामा कार्यरत थिए र करार अवधि अझै करिब एक वर्ष बाँकी रहेको निगमले जनाएको छ।

राजीनामा पुनर्विचार गर्न आग्रह
पाइलटहरूले राजीनामा दिएपछि निगमको अपरेसन विभागले त्यसबारे पुनर्विचार गर्न आग्रह गर्दै पत्राचार गरेको छ।

निगमका मानव संसाधन विभाग प्रमुख अशोक सिग्देलले पाइलटहरूको राजीनामा परेको पुष्टि गर्दै अपरेसन विभागका निर्देशकको तर्फबाट राजीनामा पुनर्विचार गर्न आग्रहसहितको पत्र मानव संसाधन विभागमा आएको बताए।

‘पाइलटहरूले दिएको राजीनामा मैले प्रत्यक्ष हेरेको छैन, तर अपरेसन विभाग प्रमुखबाट राजीनामा पुनर्विचार गर्न लेखिएको पत्र मानव संसाधन विभागमा आएको छ,’ सिग्देलले भने।

राजीनामा दिएका एक वरिष्ठ पाइलटका अनुसार लामो समयसम्म उडान नपाउँदा उडान अनुभव र वृत्ति विकासमा असर परेको थियो। व्यवस्थापन तथा विभागीय नेतृत्वको कार्यशैली र भुक्तानीसम्बन्धी समस्यासमेत राजीनामाको कारण बनेको उनको भनाइ छ।

अधिकांश पाइलटलाई पर्याप्त उडान छैन
निगममा ६० भन्दा बढी पाइलट तथा को–पाइलट कार्यरत रहेको बताइएको छ। तर जहाजको उपलब्धता र उडान तालिकाका कारण उनीहरूमध्ये धेरैले नियमित रूपमा पर्याप्त उडान पाउन नसकेको गुनासो छ।

निगममा सामान्य अवस्थामा महिनामा ८० घण्टासम्म उडान गर्ने पाइलटले करिब ६ लाख रुपैयाँसम्म आम्दानी गर्ने बताइन्छ। अहिले वरिष्ठ पाइलटहरूले समेत औसतमा करिब ४५ घण्टा मात्रै उडान पाउने भएकाले मासिक आम्दानी घटेर २ लाख ५० हजारदेखि ३ लाख रुपैयाँसम्म सीमित हुने गरेको पाइलटहरूको भनाइ छ।

यसको तुलनामा निजी वायुसेवा कम्पनीमा अन्तर्राष्ट्रिय उडान गर्ने पाइलटको पारिश्रमिक बढी रहेको उनीहरू बताउँछन्। निजी कम्पनीमा ८० घण्टासम्म अन्तर्राष्ट्रिय उडान गर्ने पाइलटले १३ देखि १४ लाख रुपैयाँसम्म पाउने र आन्तरिक उडानमा समेत दुर्गम क्षेत्रमा उडान गर्ने पाइलटको आम्दानी १० लाखभन्दा बढी तथा सुगम क्षेत्रमा ७ लाख रुपैयाँसम्म पुग्ने दाबी गरिएको छ।

विदेशी र नेपाली पाइलटको सुविधामा अन्तर
निगममा विदेशी करारका पाइलट र नेपाली पाइलटबीच सेवा सुविधामा ठूलो अन्तर रहेको गुनासो पनि उठेको छ।

निगमले अन्तर्राष्ट्रिय एजेन्सीमार्फत नियुक्त गर्ने विदेशी करारका पाइलटलाई मासिक १० हजारदेखि १५ हजार अमेरिकी डलरसम्म पारिश्रमिक दिने गरेको बताइएको छ। उनीहरूलाई आवास, हवाई टिकट र स्थानीय करलगायतका सुविधा पनि निगमले उपलब्ध गराउने गरेको दाबी छ।

नेपाली पाइलटहरूले भने आम्दानीमा कर कट्टीपछि मासिक ३ देखि ५ लाख रुपैयाँसम्म मात्र प्राप्त गर्ने र उडान घण्टासँग पारिश्रमिक जोडिएकाले जहाज ग्राउन्डेड हुँदा आम्दानीसमेत घट्ने गुनासो गरेका छन्।

उनीहरूले समान जिम्मेवारीमा काम गर्ने नेपाली र विदेशी पाइलटबीचको सेवा सुविधामा रहेको अन्तरलाई विभेदका रूपमा लिएका छन्।

पाँच वर्षमा ३५ भन्दा बढी पाइलट बाहिरिए
निगमबाट पछिल्लो पाँच वर्षमा ३५ भन्दा बढी स्थायी तथा करारका पाइलटले राजीनामा दिएको बताइएको छ।

निगमका कर्मचारीहरूका अनुसार जहाज लामो समय ग्राउन्डेड हुँदा पाइलटले नियमित उडान गर्न नपाउने अवस्था छ। यस्तो अवस्थामा विदेशी कम्पनीलाई क्रु भाडामा उपलब्ध गराउने वा कानुनअनुसार बेतलबी बिदामा बसेर अन्य विमान कम्पनीमा उडान गर्न दिने विकल्पसमेत पर्याप्त रूपमा प्रयोग नभएको उनीहरूको गुनासो छ।

यसले अनुभवी जनशक्ति निगमबाट बाहिरिने क्रमलाई थप बढाएको कर्मचारीहरूको दाबी छ।

जहाज ग्राउन्डेड हुँदा उडान तालिका प्रभावित
निगमसँग अहिले व्यावसायिक उडानका लागि दुई वाइडबडी, दुई न्यारोबडी र दुई ट्विनअटर विमान छन्। तर नियमित मर्मत, प्राविधिक समस्या तथा पार्टपुर्जा व्यवस्थापनमा हुने ढिलाइका कारण विमानहरू पालैपालो ग्राउन्डेड हुने गरेका छन्।

नियमित ‘सी–चेक’का लागि इटाली पठाइएको एउटा वाइडबडी अझै सञ्चालनमा फर्किएको छैन। अर्को वाइडबडी पनि इन्जिनसम्बन्धी समस्याका कारण जापानको नारिता विमानस्थलमा ग्राउन्डेड रहेको छ।

यसअघि सन् २०२० देखि सञ्चालनमा नरहेका दुई एमए–६० र चार वाई–१२ई गरी ६ चिनियाँ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि थन्किएका छन्।

ऋणको भार पनि कायमै
विमान खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको करिब ५० अर्ब रुपैयाँ ऋणको साँवा–ब्याज भुक्तानीसमेत निगमका लागि चुनौती बनेको कर्मचारीहरूको भनाइ छ।

जहाजको सीमित संख्या, नियमित उडानमा आउने अवरोध, ठूलो वित्तीय दायित्व र दक्ष जनशक्ति टिकाउन देखिएको चुनौतीका बीच ६ पाइलटको सामूहिक राजीनामाले निगमको व्यवस्थापन क्षमतामाथि पुनः बहस सुरु भएको छ।

राजीनामा दिएका पाइलटलाई फिर्ता ल्याउने प्रयास सफल हुन्छ वा उनीहरूको राजीनामा स्वीकृत हुन्छ भन्ने विषय भने निगम व्यवस्थापनको आगामी निर्णयमा निर्भर रहनेछ।