काठमाडौं । दशैं–तिहारमा घर जाने यात्रुको चापलाई ध्यानमा राख्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज १५/१६ गतेपछि खुलाउने तयारी गरिएको छ।

यद्यपि, टिकट बुकिङको मिति भने देशभरका सडकको अवस्थाको अध्ययनपछि मात्रै तय गरिने यातायात व्यवस्था विभागले जनाएको छ। पछिल्लो समयको अविरल वर्षाका कारण विभिन्न सडकखण्डमा पहिरो जाने तथा सडक बिग्रिने क्रम बढेकाले यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर निर्णय गर्न लागिएको हो।

ad

विभागका निर्देशक मणिराम भुसालले आगामी दिनमा सम्बन्धित निकाय र यातायात व्यवसायीसँग छलफल गरेर अग्रिम टिकट खुलाउने मिति टुंगो लगाइने बताए। सडकको अवस्था यकिन नगरी टिकट बिक्री सुरु नगर्ने विभागको तयारी छ।

यसपटक अग्रिम टिकटमा अनलाइन प्रणालीलाई प्राथमिकता दिने तयारी गरिएको छ। अनलाइनबाट टिकट लिन नसक्ने यात्रुले भने सम्बन्धित यातायात कम्पनीका आधिकारिक काउन्टर वा परिचयपत्र भएका कर्मचारीमार्फत टिकट लिन सक्नेछन्। विभागले बिचौलिया तथा अनधिकृत व्यक्तिबाट टिकट नकिन्न यात्रुलाई आग्रह गरेको छ।

मुख्य नाकामा यात्रु सहायता कक्ष
चाडपर्वमा यात्रुको चाप व्यवस्थापन गर्न यातायात व्यवसायी, ट्राफिक प्रहरीलगायतको सहभागितामा विभिन्न क्षेत्रमा समिति गठन गर्ने तयारी गरिएको छ।

थानकोट–नागढुंगा, कोटेश्वर, फर्पिङ, कलंकी, बालाजु, जगाती र साँगा भञ्ज्याङलगायत स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गर्ने तयारी छ। मुख्य नाकामा नागरिक सहायता कक्षसँगै स्वास्थ्य डेस्कसमेत राखिनेछ।

तोकिएकोभन्दा बढी भाडा लिए कारबाही
विभागले दशैं–तिहारका लागि सार्वजनिक सवारीको भाडा नबढ्ने स्पष्ट पारेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य परिवर्तन नगरेसम्म हाल कायम भाडादर नै लागू हुने विभागको भनाइ छ।

निर्धारित भाडाभन्दा बढी रकम असुल्ने सवारी सञ्चालक तथा व्यवसायीमाथि कारबाही गरिने निर्देशक भुसालले बताए। यात्रुले आफ्नो रुटको अधिकतम भाडाबारे विभागको वेबसाइट वा यात्रु सहायता कक्षबाट जानकारी लिन सक्नेछन्।

२५० किलोमिटरभन्दा लामो रुटमा दुई चालक
चाडपर्वका बेला लामो दूरीका सवारीसाधनबाट हुने दुर्घटना न्यूनीकरणका लागि २५० किलोमिटरभन्दा लामो रुटमा दुई चालक राख्ने व्यवस्था कडाइका साथ लागू गरिने भएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेश सुवेदीका अनुसार लामो समय एउटै चालकले सवारी चलाउँदा थकानका कारण दुर्घटनाको जोखिम बढ्ने भएकाले दुई चालकको व्यवस्था गर्न व्यवसायीलाई निर्देशन दिइएको छ।

ट्राफिक प्रहरीले लागूऔषध सेवन गरी सवारी चलाउने गतिविधिमाथि समेत निगरानी बढाउने भएको छ। त्यसका लागि ब्रेथलाइजरलगायत उपकरणबाट चालकको परीक्षण गरिनेछ।

क्षमताभन्दा बढी यात्रु बोक्ने, एउटै सिटमा दोहोरो टिकट काट्ने, बढी भाडा असुल्ने तथा अनधिकृत काउन्टरबाट टिकट बिक्री गर्ने गतिविधिमाथि पनि निगरानी गरिनेछ।

व्यवसायीको जोड सडक सुरक्षामा
यातायात व्यवसायीहरूले भने अहिले नै टिकट बुकिङ खोल्नुभन्दा सडकको अवस्था सुधार र यात्रुको सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले धादिङलगायत विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा सवारीसाधन बाटोमै रोकिएको बताए। सडकको अवस्था थप बिग्रिन सक्ने भएकाले परिस्थितिको मूल्यांकन गरेर मात्रै टिकट बुकिङ खोल्नुपर्ने उनको भनाइ छ।

व्यवसायीहरूले चाडपर्वका लागि भाडा बढाउने माग नगरेको पनि सिटौलाले बताए। उनका अनुसार हाल कायम भाडादरमै यात्रुलाई सेवा दिने तयारी छ।

सडक र सवारीको संयुक्त अनुगमन
चाडपर्वमा सुरक्षित यातायात सञ्चालनका लागि यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, सडक विभाग र वातावरण विभागबीच समन्वय गरेर अनुगमन गर्ने तयारी गरिएको छ।

सडकको अवस्थासँगै सार्वजनिक सवारीको यान्त्रिक अवस्था, प्रदूषण र अन्य सुरक्षा पक्षसमेत जाँच गरिनेछ। मुख्य सडक तथा नाकाबाहेक मठमन्दिर, व्यापारिक केन्द्र र भीडभाड हुने क्षेत्रमा पार्किङ व्यवस्थापनलाई पनि प्राथमिकता दिइने ट्राफिक प्रहरीले जनाएको छ।