काठमाडौं । भारी वर्षाको सम्भावना देखिएपछि पर्यटन विभागले पर्यटकीय तथा हिमाली क्षेत्रमा यात्रा गर्ने पर्यटक, पर्वतारोही र पदयात्रीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागले आज सूचना जारी गर्दै मौसम प्रतिकूल हुन सक्ने भएकाले सम्भव भएसम्म असोज ११ गतेसम्म पदयात्रा तथा हिमाल आरोहण नगर्न अनुरोध गरेको हो।

ad

मौसम पूर्वानुमानअनुसार मौसमी प्रणालीमा असर देखिए पदयात्रा र हिमाल आरोहण हुने क्षेत्रसमेत प्रभावित हुन सक्ने विभागले जनाएको छ। यात्रा स्थगित गर्न नसकिने अवस्था भए आवश्यक सावधानी अपनाउन विभागले सम्बन्धित सबैलाई आग्रह गरेको छ।

त्यस्तै, पदयात्रा तथा हिमाल आरोहणमा रहेका व्यक्तिलाई आवश्यक स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने व्यवस्था मिलाउन पनि विभागले सम्बन्धित निकायलाई अनुरोध गरेको छ।

मौसम विज्ञान विभागले मेघगर्जन, चट्याङ र हावाहुरीसहित आगामी तीन दिन भारीदेखि अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ। वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भन्दै विभिन्न क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।

यसैबीच, अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र साहले पनि आज सामाजिक सञ्जालमार्फत सम्भावित विपद्बाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।