नेपाली राजनीति यतिखेर निकै तरल मोडमा छ । एकातिर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र नीति, विधान र नेतृत्वलाई लिएर आन्तरिक बहस र विवाद चुलिएको छ भने अर्कोतिर वर्तमान सरकारको कार्यशैलीलाई लिएर नागरिकस्तरमा अनेकन् प्रश्न उठ्न थालेका छन् । कांग्रेसभित्र विशेष महाधिवेशन, क्रियाशील सदस्यताको अनलाइन नवीकरण र दलभित्रको आन्तरिक गुटगत समीकरणले नयाँ मोड लिइरहेको चर्चा चलिरहेको छ । साउन ६ गतेको बिपी स्मृति दिवसको पूर्वसन्ध्यामा कांग्रेस फुटको संघारमा पुगेको हो कि भन्ने आशंकायुक्त हेडलाइनहरू पनि मिडियामा देखिन थालेका छन् । यसै पृष्ठभूमिमा कांग्रेसको वर्तमान अवस्था, आन्तरिक गतिरोध, क्रियाशील सदस्यता नवीकरण अभियानको यथार्थ र वर्तमान सरकारको काम-कारबाहीको समीक्षामा केन्द्रित रहेर देशान्तरका लागि नेपाली कांग्रेसका नेतामधु आचार्यसँगमुक्तिबाबु रेग्मीले गरेको कुराकानीको सम्पादित अंश ।

यतिखेर नेपाली कांग्रेसको वास्तविक अवस्था के हो ? 

ad

हामी स्पष्ट रूपमा एकप्रकारको आन्तरिक रूपान्तरण र संगठनात्मक सुदृढीकरणको चरणमा छौँ । कांग्रेस विगतमा विशेष महाधिवेशन, नीति अधिवेशन र संगठनात्मक बहसहरूबाट गुज्रिँदै नयाँ नीति, नयाँ विधान, नयाँ नेता र नयाँ कार्यक्रमसहित अगाडि बढ्नुपर्छ भन्ने संकल्पका साथ अगाडि बढेको अवस्था हो । १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि र आमकार्यकर्ताले जुन प्रकारको पार्टी रूपान्तरणको आकांक्षा अभिव्यक्त गर्नुभयो, त्यसैलाई जग मानेर पार्टी नयाँ ढंगले अगाडि बढिरहेको स्थिति छ । पाँच वर्षभित्रै हामीले १५औँ नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्थाका बीचमा हामी छौँ । त्यसैले यतिखेर कांग्रेसको सम्पूर्ण ध्यान दुईवटा कुरामा केन्द्रित छ- एकातिर पार्टीलाई वैचारिक रूपले प्रस्ट, जनमुखी र समयसापेक्ष बनाउने किसिमका राजनीतिक एवं वैचारिक कार्यक्रमहरू गर्दै जाने र अर्कोतर्फ १५औँ महाधिवेशनको सुदृढ तयारीका लागि सबैभन्दा महत्वपूर्ण आधार मानिएको क्रियाशील सदस्यताको व्यवस्थापनलाई छिटोभन्दा छिटो टुंगो लगाउने । 

तपाईंले क्रियाशील सदस्यताको प्रसंग उठाउनुभयो । नवीकरण र वितरणको विशेष अभियान सकिएको हो कि अझै जारी छ ? पछिल्लो निर्णय र अवस्थाबारे प्रस्ट पारिदिनुस् न ।

साउन ३ गते (आज)सम्म हामी सबै प्रकारको सदस्यतालाई व्यवस्थित र अद्यावधिक गर्ने अन्तिम काममा छौँ । यसको दायरा निकै फराकिलो बनाइएको छ । जस्तै, नेपाली कांग्रेसको नयाँ सदस्य बन्न चाहने, हिजोका दिनमा जोडिन नसकेका, तर अहिले कांग्रेसको विचारबाट प्रेरित भएर नयाँ सदस्यता लिन चाहने साथीहरूले मज्जासँग आवेदन दिन सक्नुहुन्छ । त्यसैगरी, विगतमा विभिन्न कारणवश नवीकरण गर्न छुटेका पुराना क्रियाशील सदस्य साथीहरूले पनि यस अवधिमा आफ्नो सदस्यता नवीकरण गर्न सक्नुहुन्छ । कांग्रेसको विधानको व्यवस्थाअनुसार हरेक क्रियाशील सदस्यले प्रत्येक वर्ष आफ्नो सदस्यता नवीकरण गर्नुपर्ने बाध्यात्मक नियम छ । त्यसैले, अघिल्लो वर्ष नवीकरण गरिसकेका साथीहरूले पनि नयाँ वर्ष (२०८३)का लागि फेरि एकपटक नवीकरण प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।

तर, बजारमा त यो ‘नवीकरण’भन्दा पनि ‘अद्यावधिक’ भन्ने शब्दले कार्यकर्ता झुक्किए, प्रक्रिया झन्झटिलो भयो भन्ने गुनासो छ नि ?

हो, कतिपय साथीहरूलाई यो ‘अद्यावधिक’ वा डिजिटल इन्ट्री भन्ने शब्दले अन्योल बनाएजस्तो पनि बुझिन्छ । तर, यसपटक कांग्रेसले आफ्नो संगठनात्मक प्रणालीलाई प्रविधिसँग जोडेर लैजाने एउटा बलियो संकल्प र अठोट गरेको छ । हामी पार्टीलाई परम्परागत प्रणालीबाट मुक्त गरेर पूर्ण रूपमा डिजिटल डेटाबेसमा लैजाँदै छौँ । त्यसैले, यसलाई हामी ‘डिजिटल्ली नवीकरण’ भनिरहेका छौँ । नयाँ सदस्यता, पुरानो नवीकरण र नियमित नवीकरण-यी तीनै हिसाबले साथीहरूले अनलाइन वा भौतिक रूपमा फारम भरेर प्रक्रिया पूरा गर्न सक्नुहुन्छ ।

तर, यसपटक सदस्यता नवीकरणमा कार्यकर्ताको उत्साह नै देखिएन भनिन्छ नि, यसमा कति सत्यता छ ?

यो फगत एउटा प्रोपोगान्डा मात्र हो । भित्र तथ्यमा, धरातलमा गएर हेर्ने हो भने चित्र बिल्कुलै फरक छ । सामान्यतया नेपाली कांग्रेसको एउटा महाधिवेशनबाट अर्को महाधिवेशनको अवधिमा जाँदाखेरि नवीकरणको अनुपात कस्तो रहन्छ भने, ७० देखि ८० प्रतिशतसम्म मात्र नियमित नवीकरण हुने गरेको ऐतिहासिक तथ्यांक छ । बाँकी २०-२५ प्रतिशत मानिस रोजगारी, बसाइँसराइ वा अन्य व्यस्तताले छुट्ने गर्छन् । यसचोटि हामी डिजिटल प्रणालीमा जाँदा पनि अहिल्यै नै त्यो पुराना सदस्यको उल्लेख्य संख्याको प्रतिशतमा पुगिसकेका छौँ । अर्कोतर्फ, नयाँ युवाहरू सदस्य बन्ने क्रम पनि उत्तिकै जारी छ । 

तर गाउँ-गाउँमा इन्टरनेट पुगेको छैन, डिजिटल साक्षरता कम छ, त्यहाँका पुराना कार्यकर्ता त यसले गर्दा मारमा परे नि, होइन ?

गाउँ-गाउँमा, वडा-वडामा प्रविधिसँग अभ्यस्त नभइसकेका हाम्रा पुराना, त्यागी नेता-कार्यकर्ता साथीहरू हुनुहुन्छ । उहाँहरू अहिले यस प्रविधिलाई जान्ने, बुझ्ने युवाहरूबाट सिकेर, उनीहरूको सहयोग लिएर अनलाइन फारम भर्ने काममा उत्साहपूर्वक लागिरहनुभएको छ । कतिपय दुर्गम ठाउँमा हाम्रा नयाँ र युवा पुस्ताका साथीहरूले ‘डिजिटल भोलेन्टियर’का रूपमा घर-घरमा पुगेर पुराना नेताहरूको विवरण अनलाइन अद्यावधिक गर्ने कुरामा ठूलो सहयोग पुर्‍याइराख्नुभएको छ । जहाँ इन्टरनेटले नै राम्रो काम गर्दैन वा कनेक्टिभिटीको ठूलो समस्या छ, त्यहाँका साथीहरूको हकमा हामीले व्यावहारिक छुट दिएका छौँ । त्यहाँका साथीहरूले कागजी फारममै विवरण भरेर, प्रमाणित गराई सदरमुकाममा आएर वा इन्टरनेट भएको ठाउँमा आएर डेटा इन्ट्रीको प्रशस्त काम गरिरहनुभएको छ । कतिपय अवस्थामा जिल्लामा लोड बढी भएर इन्ट्री हुन नसकेका फारमहरू सिधै केन्द्रमा (सानेपा) ल्याएर, केन्द्रीय कार्यालयको प्राविधिक टोलीले पनि त्यसलाई इन्ट्री गर्न सघाइरहेको अवस्था छ । 

कतिपयले त टिप्पणी गर्छन् नि-‘अहिलेको अवस्थामा देश नै लथालिंग छ, दलहरू स्वार्थमा लिप्त छन्, यस्तो बेला फेरि त्यही पुराना विकृति बोकेको कांग्रेसको कार्यकर्ता किन बन्ने ?’  

हो, म स्वीकार गर्छु । नयाँ राजनीतिक शक्तिका रूपमा आएका वा कांग्रेसका विरोधीका यस्ता निराशावादी शब्दावली र प्रचार बजारमा सुन्न पाइन्छ । उनीहरू चौबीसै घण्टा कांग्रेसलाई गाली गरेर आफ्नो सान्दर्भिकता पुष्टि गर्न खोज्छन् । तर, यदि तपाईं फेरि पनि हल्लामा होइन, समाजको भित्री तथ्य र मनोविज्ञानमा गएर हेर्नुहुन्छ भने मुलुकभरि र आमनागरिकमा कांग्रेसप्रति एउटा नयाँ जागरण र भरोसा फर्किएको देखिन्छ । आमजनताले फेरि के महसुस गर्न थालिसकेका छन् भने- ‘नेपालको जटिल भू-राजनीति र आन्तरिक संकट व्यवस्थापनमा आवश्यकताअनुसार आफूलाई रूपान्तरण गर्न सक्ने र काममा, नीतिमा, आदर्शमा वा विधिमा टेक्ने कुरामा परिपक्वता प्रकट गर्ने पार्टी आखिर कांग्रेस नै रहेछ ।’ नयाँ भनिएकाहरूको सतहीपन, स्टन्टबाजी र गैरजिम्मेवारपन देखिसकेपछि जनताले नवीनता र परिपक्वताको सन्तुलन खोजेका छन् । स्वतन्त्र मतदाताहरूको ठूलो संख्याले अहिले आफ्नो मुड परिवर्तन गर्दै गएको देखिन्छ । 

यो त तपाईंले नेताको आँखाबाट हेरेर पार्टीका राम्रा-राम्रा कुरा मात्रै सुनेको र सुनाएको जस्तो भयो । समाजमा त निराशा र आक्रोश उत्तिकै छ नि ?

म तपाईंलाई एउटा व्यक्तिगत अनुभव सुनाउँछु । हिजोका दिनमा जब म सार्वजनिक बस वा माइक्रो बसमा चढ्थेँ, त्यहाँका यात्रु, सर्वसाधारण र युवाहरूको आवाज सुनिन्थ्यो । उनीहरू पुराना दलहरूलाई धारेहात लगाउँथे र नयाँ आएकाहरूको पक्षमा बडो जोसका साथ बोल्थे । तर, अहिले ठ्याक्कै त्यही सार्वजनिक बसको ‘टोन’मा ठूलो ‘यु-टर्न’ आएको म आफैँले प्रत्यक्ष महसुस गरेको छु ।

अहिले जनता भन्न थालेका छन्- ‘हामीले त हिजो नयाँ भनेर, जान्ने भनेर अन्धो भएर यिनीहरूलाई भोट हाल्यौँ, सहयोग गर्‍यौँ । तर, यिनीहरूको काम गर्ने ढाँचा, काम गर्ने शैली र राष्ट्रिय प्राथमिकता निर्धारण गर्ने कुरामा केही पनि परिपक्वता देखिएन । देश बनाउन त स्टन्ट होइन, गम्भीरता चाहिने रहेछ । हामीले त जान्ने-जान्ने होलान् भनेर छानेको, सबभन्दा नजान्ने त यिनीहरू पो देखिए !’ संसद्भित्रकै स्थिति हेर्ने हो भने पनि, वर्तमान सरकारका मन्त्रीहरू र मन्त्रिपरिषद्कै सदस्यहरूको कार्यशैलीमा जुन प्रकारको अपरिपक्वता र कमजोरी देखिएको छ, त्यसले आममानिसलाई निराश बनाएको छ । त्यसैले अहिले आमजनताको रुझान, विशेषगरी गगन थापालगायत युवा नेताहरूको नेतृत्वमा रूपान्तरण हुँदै गरेको कांग्रेसप्रति निकै तीव्र गतिमा बढिरहेको छ । 

तपाईंहरू आगामी असोजमा १५औँ महाधिवेशन गर्ने कुरा गर्नुहुन्छ, तर तपाईंहरूकै पार्टीभित्रको इतर पक्षले त फरक गतिविधि गरिरहेको छ नि ?  

मुस्कुराउँदै... । कांग्रेसभित्रै अर्को पक्ष वा दुस्मन पक्ष भनेर वर्गीकरण गर्ने जुन भाष्य छ, यो केवल सार्वजनिक खपतको विषय हो जस्तो लाग्छ । उहाँहरूले आजसम्म गरेको राजनीतिक लडाइँ, त्याग र संघर्ष केका लागि हो ? लोकतन्त्रका लागि हो, विधिको शासनका लागि हो । संगठनका हिसाबले भन्ने हो भने नेपाली कांग्रेसलाई बलियो बनाउनका लागि हो, रुख चिह्न र चारतारे झन्डाका लागि हो । आखिर हाम्रा आदर्श, सिद्धान्त र गन्तव्य एउटै छन् र हामी सबै यही कांग्रेसभित्रै छौँ । अब एउटै घरभित्र त विचारको मन्थन, छलफल र केही मतभेद स्वाभाविक रूपमा भइहाल्छन् नि । बस्ने हो, संवाद गर्ने हो र मिलेर काम गर्ने हो ।

इतर पक्ष त स्पष्ट रूपमा ‘अब संस्थापन पक्षसँग एकताको सम्भावना क्षीण भयो’ भनिरहेका छन् । के साउन ६ गते बिपी स्मृति दिवसको दिन नेपाली कांग्रेस औपचारिक रूपमा फुट्दै छ ?

म ठोकुवा गरेर भन्छु- नेपाली कांग्रेस कहिल्यै फुट्दैन । किनभने कांग्रेसको यो विशाल छहारीभित्र नेपालका सम्पूर्ण लोकतन्त्रवादी र फरक विचार राख्ने कांग्रेस अटाउन सक्छन् र अटाउँछन् । अब कसैलाई अरू कुनै राजनीतिक पसल वा पार्टीप्रति आकर्षण हुन्छ भने त त्यो उसको व्यक्तिगत कुरा र दुर्भाग्य हो । त्यस्तो महत्वाकांक्षाको त कुनै राजनीतिक उपचार पनि हुँदैन । कांग्रेसभित्र विगतमा कस्ता-कस्ता भीषण असहमति, विचारका टक्कर र नेतृत्वको टकराव हुन्थे । तर ती सबै असहमतिका बीचमा पनि आफ्ना कुरा पार्टीकै फोरममा, पार्टीभित्रै बसेर राख्ने र आन्तरिक लोकतन्त्रलाई विकसित गर्ने परम्परा हामीले नै स्थापित गरेको होइन र ? त्यसैले पार्टी फुट्ने कुरा बेकारको हल्ला मात्र हो ।

विशेष महाधिवेशन वा निर्वाचन आयोगको निर्णयले त संस्थापनइतरहरूलाई भित्तामा पुर्‍याएको देखायो नि ?

निर्वाचन आयोगले गरेका कतिपय निर्णयप्रति साथीहरूको चित्त दुखाइ वा प्रश्न थियो होला । लोकतान्त्रिक पद्धतिमा चित्त नबुझेपछि कानुनी उपचार खोज्नु स्वाभाविक हो । तर, सर्वोच्च अदालतबाट अन्तिम फैसला वा निर्णय आइसकेपछि त, अन्तिम र सर्वमान्य हुनुपर्छ नि, होइन ? अब पनि अन्यथा कुरा गर्ने हो भने त त्यो केवल निहुँका लागि निहुँ खोज्ने कुरा मात्रै हुन्छ । 

इतर पक्षको आरोप छ कि संस्थापन पक्षले उनीहरूलाई उचित स्थान र भाउ नै दिएन ?

म तपाईंलाई देशान्तरमार्फत आमनागरिकलाई प्रस्ट पार्न चाहन्छु- कांग्रेसभित्र कांग्रेससँगै र कांग्रेसकै लागि लडेका आमकार्यकर्ता र नेताहरू हामी सबै एकै ठाउँमा छौँ । घरभित्रका आन्तरिक छलफल, तिता-मीठा कुरा र बहस सबै बाहिर माइक लगाएर, मिडियाको विषय बनाएर त प्रचार गरिँदैन नि !

म तपाईंलाई प्रस्ट भनिदिन्छु- यतिखेर पनि पार्टीका शीर्ष नेताहरू र विभिन्न पक्षका बीचमा निरन्तर वार्ता र संवाद भइरहेको छ । अब यो दाजुभाइ र बाउ-छोराको भेटघाट कहिले भयो, कोसँग भयो, कुन मिनेटमा भयो र के-के सम्झौता भयो भन्ने कुरा सबै सार्वजनिक रूपमा माइक लगाएर हल्लाखल्ला गर्ने विषय होइन र गरिँदैन पनि ।

विधान र प्रक्रियाको नाममा सुरु भएको यो लडाइँ वास्तवमा वैचारिक हो कि फगत शक्तिको टकराव मात्रै हो ?

बहुतै सही र गम्भीर प्रश्न उठाउनुभयो । हामीले यसलाई केवल एउटा गुट वा मिडियाबाजीको चस्माबाट मात्र हेर्नुहुँदैन । हामी पब्लिकमा जाउँ, हाम्रा आमसाथीहरू जसले संगठनमा रगत-पसिना बगाएर दुःख गरेका छन्, उनीहरूको बीचमा जाऊँ । उनीहरूको स्पष्ट भनाइ के छ भने ‘तपाईं नेताहरू किन यो बेकारको गुटगत लडाइँमा समय बर्बाद गर्नुहुन्छ ? पार्टीमा गर्नुपर्ने काम थुप्रै बाँकी छन् नि !’

कार्यकर्ताको यो आवाज शतप्रतिशत जायज छ । महाधिवेशन पार्टीको एउटा ठूलो लोकतान्त्रिक ‘महोत्सव’ हो र यो पूरा गर्नका लागि अहोरात्र ठूलो मिहिनेत चाहिन्छ । हामीले हाम्रा नीतिहरूमा नयाँ किसिमले खारिनुपरेको छ, विचार परिमार्जित गर्नुपरेको छ, त्यहाँ धेरै काम गर्नु छ । अहिलेकै पुरानो ढर्राको विधानले मात्र भोलि पार्टी चल्न सक्दैन, यसलाई समयसापेक्ष बनाउनका लागि विधान संशोधनमा थुप्रै काम गर्नुपर्नेछ । त्यसैगरी, हिजोदेखि गुट-उपगुटको नाममा अन्यायमा परेका हाम्रा थुप्रै साथीहरू गाउँ-गाउँ र जिल्ला-जिल्लामा छन्, जसको राजनीतिक जीवन यस्तै आन्तरिक द्वन्द्वका कारण ध्वस्त बनाइएको छ, जसलाई लगानी ठूलो हुँदाहुँदै पनि कुनै अवसर दिइएको छैन । त्यस्ता त्यागी साथीहरूको बीचमा गएर उनीहरूको मनोबल उच्च गर्नका लागि नेतृत्वले काम गर्न बाँकी छ । जनताका जीवन्त इस्यु, महँगी, बेरोजगारी, भ्रष्टाचारजस्ता विषय टिपेर संसदमा सशक्त आवाज उठाउनु छ । पार्टीले विभिन्न रचनात्मक कार्यक्रम गरेर जनतासँग आफ्नो सामीप्य, सम्पर्क र संवाद बढाउनुपर्नेछ । काम गर्नुपर्ने थुप्रो सूची एकातिर छ, तर हाम्रा नेताहरू चाहिँ खाली निहुँका लागि निहुँ खोज्ने, रडाको मच्चाएर पार्टीलाई कमजोर बनाउने कुरामा लागेका छन् । लाग्नुस् न नयाँ कांग्रेस बनाउन !

तपाईंले भन्नुभएको यो ‘नयाँ कांग्रेस’ कसरी बन्छ त ? यसको स्वरूप कस्तो हुन्छ ?

अनेकौँ किसिमका गुट, उपगुट बनाएर ‘मेरो मान्छे र तेरो मान्छे’ भन्दै अंकगणित जोड्ने र घटाउने कुरा मात्र गरेर कांग्रेस नयाँ बन्दैन । कांग्रेस त जनताको पार्टी हो, त्यसैले हामी जनताको कुरामा, उनीहरूको सुख-दुःखमा जानुपर्‍यो । नयाँ कांग्रेस बनाउन नयाँ खाका, नयाँ ढाँचा र नयाँ कार्यशैलीबाट नेता तथा कार्यकर्ता र जनताको बीचमा परिचालित हुनुपर्छ भन्ने आमकार्यकर्ताको ठूलो आवाज छ ।

‘नयाँ कांग्रेस’ भनेको पार्टी नै अर्को बनाउने भनेको कि यही पुरानो पार्टीलाई अलिकति माझ्ने वा परिमार्जन गर्ने भन्या हो ?

पार्टी अर्को बनाउने कुरा त आत्मघाती हुन्छ । यो पार्टीमा व्यापक र आमूल सुधारको आवश्यकता छ भनिएको हो । यो सानोतिनो ओठे प्रतिबद्धता वा संकल्पले मात्र पूरा हुँदैन । म त भन्छु- कांग्रेसले अब आफ्नो राजनीतिक क्षितिज यति फराकिलो बनाउन आवश्यक छ, जहाँ मुलुकका तमाम लोकतन्त्रवादी अटाउन सकून् । आज देशमा थुप्रै यस्ता मानिस छन्, जो कट्टर लोकतन्त्रवादी हुन्, तर विभिन्न कारणले कांग्रेस बनिसकेका छैनन् वा कांग्रेससँग जोडिन सकिरहेका छैनन् । हामीले तिनीहरूको स्पेसमा काम गरौँ, तिनीहरूलाई कांग्रेसमा जोड्ने काम गरौँ ।

विशेषगरी, हाम्रा नौजवान युवाहरू- ‘जेनजी’ पुस्ताका छन्, जोसँग देश विकासको वास्तविक र सही एजेन्डा छ, केही गरौँ भन्ने प्रवल इच्छाशक्ति र हुटहुटी छ, तर उनीहरूले कतै ठाउँ पाएका छैनन् । हिजो चुनावका बेला उनीहरूकै भावनाको जगमा चढेर एकथरी मानिस सरकारमा त पुगे, तर त्यो सरकारले वा ती शक्तिले युवाहरूको भावना, विचार र एजेन्डालाई कतै पनि सम्बोधन गरेको देखिएन । आज ती युवा अलपत्र परेर सडकमा छन् । हो, कांग्रेसले त्यस्ता युवासँग वार्ता गरोस्, संवाद गरोस् र ती सबै लोकतन्त्रवादी तागतहरूलाई पार्टीभित्र समेटोस् । त्यसैगरी, देशमा धेरै बौद्धिक व्यक्तिहरू, बुद्धिजीवीहरू हुनुहुन्छ, जो लोकतन्त्रको मायाले र देशप्रतिको निष्ठाले गर्दा विदेश वा अन्त कतै नगई यही मुलुकमै बसेर सेवा गरिरहनुभएको छ । उहाँहरूलाई पद वा अन्य कुनै लोभलालच छैन । कांग्रेसले उहाँहरूलाई भनोस्- ‘कांग्रेस तपाईंहरूको ज्ञान र विशेषज्ञताका लागि सबैभन्दा उपयुक्त प्लेटफर्म हो, आउनुस्, मिलेर देश बनाऔँ ।’

तर ‘साउन ६ गते नै कांग्रेस फुट्ने दिन हो’ भनेर समाचार आइरहेका छन् । यसलाई  के भन्नुहुन्छ ?

आक्रोशित मुद्रामा । जो मानिस आफूलाई बिपीको अनुयायी भन्छन्, उनीहरू नै बिपीले रगत-पसिना बगाएर स्थापना गरेको पार्टी फुटाउँछु भन्दै हिँड्ने ? त्यो पनि बिपीको स्मृति दिवसकै पवित्र दिन पारेर खोज्दै-रोज्दै पार्टी फुटाउने धम्की दिनुभन्दा ठूलो दुर्भाग्य र विचलन अरू केही हुन सक्दैन । बिपीले सिर्जना गरेको मूल कांग्रेसलाई कमजोर बनाएर, त्यसलाई ध्वस्त पारेर छुट्टै मञ्चमा बिपी स्मृति दिवस मनाउनुको के अर्थ रहन्छ र किन मनाइराख्ने ? वास्तवमा बिपीको आदर्श र पदचापमा हिँड्नका लागि बिपी स्मृति दिवस मनाउनुपर्ने हो । 

बिपीले बनाएको विचार र पार्टीलाई समय सान्दर्भिक कसरी बनाउन सकिन्छ भनेर योगदान गर्ने, चिन्तन र मन्थन गर्ने समय हो साउन ६ गते । तर, बिपी स्मृति दिवसको नाम पनि जप्ने र बिपीकै पार्टीलाई ध्वस्त बनाउन खोज्ने हो भने, त्यस्ता तत्वहरू न त बिपीवादी हुन्, न त बिपीको विचारका शुभेच्छुक नै हुन् ।

कांग्रेस एकढिक्का हुनु भनेको पद र भूमिका बाँड्नु मात्र होइन; कांग्रेसबाहिर रहेका प्रजातन्त्रवादीहरूलाई पनि भित्र जोड्नु हो । यहाँ एउटा रोचक र तितो यथार्थ हेर्नुस्, कांग्रेसबाट जसले इतिहासमा सबैभन्दा बढी मौका पायो, जसले सबैभन्दा बढी राजकीय र सांगठनिक अवसर लियो, जसले पटक-पटक सेवा र सुविधा ग्रहण गर्‍यो, आज उनीहरू नै सबैभन्दा बढी असन्तुष्ट छन् र तिनै मानिस कांग्रेसको पर्खाल भत्काउन र घर तोड्न लागिपरेका छन् । तर, जसले कांग्रेस भएबापत संगठनमा योगदान गर्नेबाहेक व्यक्तिगत रूपमा केही पनि प्राप्त गरेको छैन, रोएको र दुःख पाएको बेला पनि चारतारे झन्डा बोकेर हिँडेको छ, गाउँ-गाउँमा बसेर तिनै निःस्वार्थी कार्यकर्ताले कांग्रेस जोगाएका छन् । फाइदा पर्दा कांग्रेस र फाइदा नपर्दा भांग्रेस बन्नेहरूको चरित्र अब आमजनता र समाजले राम्रोसँग बुझिसकेका छन् । 

अहिले नयाँ भनिएका शक्तिहरू झन्डै दुईतिहाइको सरकार छ । यसलाई ‘रामराज्य’ नै सुरु हुन लाग्यो जस्तो गरी प्रचार गरिँदै छ नि ?

हाँस्दै । रामराज्य ? अहिलेको सरकारको अवस्था त ठ्याक्कै ‘बाँदरको हातमा नरिवल’जस्तो भएको छ । यो सरकारले मुलुकको प्राथमिकता के हो भन्ने कुराको निर्धारण नै गर्न सकेको छैन । एउटा सामान्य उदाहरण हेर्नुस् न- सरकार गठन हुन पाएको छैन, अरू कुनै प्राथमिकता वा राष्ट्रिय संकट नै नभएझैँ गरी, निरिह र गरिब सुकुम्बासीमाथि डोजर चलाउने, प्रहार गर्ने र आक्रमण गर्ने काम भयो । के यो एउटा लोकतान्त्रिक सरकारको पहिलो प्राथमिकता हुन सक्छ ? हुँदाहुँदा, कार्यशैलीको अपरिपक्वता कस्तो देखियो भने- आफैँले सम्माननीय राष्ट्रपतिज्यूलाई बोलाएर संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न लगाउँछन् । राष्ट्रपतिज्यूले सरकारकै दस्ताबेज पढ्दै हुनुहुन्छ, तर त्यो डकुमेन्टको मूल प्राधिकार वा संसद्को मर्म कहाँ गइरहेको छ भन्ने कुराको कतै हेक्का छैन । न त यिनीहरूमा राजनीतिक संस्कार देखिन्छ, न त कामको प्राथमिकता निर्धारण गर्ने क्षमता ।

तपाईं त सरकारप्रति निकै आक्रामक देखिनुभयो । सरकारले सुशासनको कुरा त उठाइरहेकै छ नि ?

कस्तो सुशासन ? अहिले मुलुकमा चारैतिर एक प्रकारको नीतिगत र प्रशासनिक आतंकको राज चलाउन खोजिएको छ । प्रधानमन्त्रीलाई जसले प्रधानमन्त्री बनायो, त्यही संसद्माथि पूर्ण उपेक्षा गरिएको छ । जसले शपथग्रहण गरायो र वैधानिकता दियो, त्यही सर्वोच्च न्यायालय र संवैधानिक निकायमाथि चौतर्फी प्रहार र आक्रमण भइरहेको छ । सुशासन गर्छु भनेर ठूला कुरा गर्नेहरूले, भ्रष्टाचार नियन्त्रण गर्ने अख्तियारजस्तो गरिमामय संस्थालाई कमजोर बनाउनका लागि विभिन्न अध्यादेश र दुव्र्यवहारका खेल रचिरहेका छन् । कुनै पनि सरकारले मुलुकका राष्ट्रसेवक कर्मचारीलाई विश्वासमा लिएर काम गर्नुपर्छ । तर, आज राष्ट्रसेवक कर्मचारीहरू त्राहि-त्राहि छन्, कुन बेला कसलाई कहाँ पूर्वाग्रहका आधारमा कारबाही हुने हो भन्ने डर छ । मुलुकको थला परेको अर्थतन्त्र धान्नका लागि निजी क्षेत्र र उद्योगी-व्यवसायीलाई सरकारले जसरी हुन्छ एउटा आड र भरोसा दिनुपर्ने ठाउँमा, निजी क्षेत्रमाथि नै प्रहार र आक्रमण गर्ने रणनीति लिइएको छ ।

यो कार्यशैली हेर्दा त मलाई ठ्याक्कै हिटलरकै राजनीतिक बाटोको सम्झना आउँछ । हिटलर के भन्थे रे भने- ‘यदि कुनै देशमा जनतामाथि शासन गर्नु छ भने उनीहरूलाई कुनै न कुनै ढंगले सधैँ आतंक र त्रासमा राख । यदि त्रसित बनाउने कुनै वास्तविक तथ्य वा कारण छैन भने, कृत्रिम कारण वा हौवा खडा गरेर भए पनि उनीहरूलाई भयभीत बनाइराख । किनभने डर र त्रासमा बाँचेका जनतामाथि शासन गर्न सजिलो हुन्छ ।’ के वर्तमान सरकारका सञ्चालकहरू पनि नेपाली जनतालाई त्यसरी नै भयभीत बनाएर शासन गर्न आएका हुन् ? हामी स्वीकार गर्छौं- विगत ३५ वर्षभित्र मुलुकमा धेरै विकृति भए, विसंगतिहरू भए, हाम्रा पनि कतिपय कमजोरी भए होलान् । त्यही भएर नै हिजोका ती विकृति नदोहोरियून् भनेर हामी आफैँले पनि पार्टीभित्र एउटा विद्रोह र बहस गरेर ‘यो कार्यशैली र भूमिकाले हुँदैन, नयाँ कांग्रेस बनाउनुपर्छ’ भनेर लागेकै हौँ । तर, हिजो पुराना दलहरूलाई गाली गर्ने, सत्तोसराप गर्ने अनि नयाँ आएकाले ‘नयाँ गर्छु’ भनेर जनादेश पाइसकेपछि चाहिँ सिंगोे मुलुक र आमजनता नै भयभीत हुने किसिमको वातावरण क्रिएट गर्ने ? यदि यो सरकारको कार्यशैली यही हिसाबले अगाडि जाने हो भने, नेपालको इतिहासमा आजसम्म बनेका सरकारमध्ये यो सबैभन्दा दुर्भाग्यपूर्ण र असफल सरकार प्रमाणित हुनेवाला छ ।