
नेपाली राजनीतिको इतिहासमा नेपाली कांग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन, प्रजातान्त्रिक आन्दोलनको संवाहक र विचारको मन्थन गर्ने मुख्य थलो पनि हो । तर, समय र परिस्थितिको तीव्र बदलावसँगै आज कांग्रेस आफैँभित्र अनेकौँ वैचारिक, सांगठनिक र पुस्तान्तरणका चुनौतीहरूसँग जुधिरहेको छ । एकातिर जनताको मन जित्न ‘जरा अभियान’ र ‘एनसी फर एन्सी’जस्ता नवीन संकल्प बोकेर तल्लो तह (ग्रासरुट)सम्म पुग्ने प्रयास भइरहेको छ भने, अर्कातिर आन्तरिक शक्ति संघर्ष, गुटगत किचलो र महाधिवेशनको वैधानिकतालाई लिएर पार्टीभित्र तीव्र असन्तोषको भुसको आगो बलिरहेको छ ।
पार्टीभित्रको आन्तरिक कलह, महाधिवेशनको पेचिलो समीकरण, र वर्तमान सरकारको कार्यशैलीप्रति प्रतिपक्षको आक्रामक भूमिकाका बीच नेपाली कांग्रेस अब कसरी अघि बढ्छ ? के कांग्रेसले परम्परागत सांगठनिक ढर्रालाई बदलेर नयाँ पुस्ताको भावना समेट्न सक्ला ? अनि सरकारले दाबी गरेको ‘रामराज्य’ र ‘सुशासन’को वास्तविकता के हो ?
यिनै समसामयिक, पेचिला र चौतर्फी राजनीतिक विषयवस्तुमा केन्द्रित रहेर नेपाली कांग्रेसका नेताजगदीश्वर नरसिंह केसीसँगमुक्तिबाबु रेग्मीले गरेको कुराकानीको सम्पादित अंश ।
पछिल्लो राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसको वैचारिक अवस्था र सांगठनिक दिशा के-कस्तो छ ?
नेपाली कांग्रेसको वैचारिक धरातल इतिहासदेखि नै स्पष्ट र सुदृढ छ । राष्ट्रियता, प्रजातन्त्र र समाजवाद हाम्रा मार्गदर्शन हुन् । आज नयाँ कार्यसमिति आएर रातारात नयाँ विचार प्रवाह गर्ने वा कांग्रेसको मूल मर्मलाई बदल्ने भन्ने कुरा होइन । तर, समय र परिस्थितिसँगै पार्टी सञ्चालनको शैली भने परिवर्तन हुनुपर्छ । हिजो जसरी कांग्रेस चल्यो, अब त्यसरी चल्न सक्दैन र चल्नु पनि हुँदैन ।
नेपाली कांग्रेसलाई अब आमजनताको मन-मनमा र घर-दैलोमा कसरी पुर्याउने भन्ने नै हाम्रो मुख्य ध्येय हो । नयाँ पुस्ता (जेनजी) र युवा आन्दोलनपछिको परिस्थितिमा नेपाली कांग्रेस नवीन ढंगले प्रस्तुत भइरहेको छ । हालै झन्डै डेढ महिनासम्म सञ्चालित ‘जरा अभियान’मार्फत कांग्रेस वडा र गाउँ तहसम्म पुग्यो । साउन ६ र ७ गते जरा अभियानको समापन गर्दै भदौ २४ गतेसम्मका लागि ‘एनसी फर एनसी’ अभियान प्रारम्भ गरिएको छ । यसले कांग्रेस हिजोभन्दा बिल्कुल पृथक र सशक्त ढंगले आममतदाता र जनताको माझमा पुग्ने प्रयत्न गरिरहेको छ भन्ने स्पष्ट सन्देश दिएको छ ।
‘जरा अभियान’बाट अपेक्षाकृत नतिजा हासिल भयो कि पुराना अभियानजस्तै सामान्य औपचारिकतामा सकियो ?
पार्टीका कार्यक्रम हुँदै नहुनु, नेता-कार्यकर्ता जनताको माझमा पुग्दै नपुग्नु र कांग्रेसले के गरिरहेको छ भन्नेबारे तल्लो तहका जनता बेखबर हुनुभन्दा कमसेकम वडा-वडासम्म पुगेर संवाद गर्नु आफैँमा ठूलो उपलब्धि हो । कांग्रेसको मूल आधार र वास्तविक जग भनेकै तल्लो तहका नेपाली जनता हुन् । यो अभियानमार्फत हाम्रा साथीहरू सामाजिक, सांस्कृतिक र वैचारिक रूपमा समाजको हितका लागि कसरी प्रस्तुत हुने भन्नेमा केन्द्रित हुनुभयो । गाउँमा बसेको कांग्रेस कार्यकर्ताले समाजमा परेको दुःख, सुख, अफ्ठ्यारो र असहजतामा साथ नदिँदासम्म जनताले कांग्रेसलाई पूर्ण विश्वास गर्न सक्दैनन् । त्यसैले निर्वाचनपछिको यो अवधिमा तल्लो तहसम्म संगठन पुर्याउने जुन प्रयत्न भयो, त्यसले कांग्रेसलाई पुनर्जीवन दिएको छ ।
उपलब्धि शतप्रतिशत भयो-भएन भन्ने लेखाजोखा आफ्नो ठाउँमा होला, तर कांग्रेस ग्रासरुटसम्म पुगेको छ । २१औँ शताब्दी र नयाँ पुस्ताको भावनाअनुसार ३५ वर्षमुनिका युवाहरूलाई बढीभन्दा बढी क्रियाशील सदस्यता दिलाउने र उनीहरूलाई पार्टीप्रति आकर्षित गर्ने कार्यको जग यसै अभियानमार्फत हालिएको छ ।
भदौ २४ सम्म सञ्चालित ‘नवीन संकल्प-नवीन अभियान’ अर्थात् ‘एनसी फर एनसी’ अभियानका मुख्य कार्यक्रम र उद्देश्यहरू के-के हुन् ?
‘एनसी फर एनसी’ अर्थात् नेपाली कांग्रेस फर नेसनल कज (राष्ट्रिय मुद्दाका लागि नेपाली कांग्रेस) हो । यसको मुख्य उद्देश्य स्थानीय र ग्रामीण तहमा विद्यमान राष्ट्रिय तथा सामाजिक समस्याको पहिचान गरी तिनको व्यावहारिक समाधान खोज्नु हो ।
यो अवधिमा पार्टी नेता तथा कार्यकर्ताहरू केवल राजनीतिक भाषणमा सीमित नभई तल्लो तहका मतदाता र नागरिकसँग प्रत्यक्ष जोडिनेछन् । उदाहरणका लागि, अहिले वर्षाको मौसम छ; बाढी, पहिरो, डुबान तथा महामारीजस्ता प्राकृतिक विपत्तिले सर्वसाधारण आक्रान्त छन् । यस्ता स्थानीय र राष्ट्रिय समस्यामा कांग्रेसका कार्यकर्ता स्वयं सेवामा खटिनेछन् । यस अभियानले राजनीतिक दाउपेचभन्दा माथि उठेर सामाजिक उत्तरदायित्व निर्वाह गर्न र जनताका दैनिक समस्या हल गर्न अहम् भूमिका खेल्नेछ ।
यसको अर्थ भदौ २४ सम्म राजनीतिक मुद्दाभन्दा विशुद्ध सामाजिक मुद्दामा केन्द्रित हुन्छ, भन्ने हो ?
यसलाई सामाजिक र राजनीतिक दुवै रूपमा बुझ्नुपर्छ । वास्तवमा, सामाजिक काम गर्नु पनि राजनीति नै हो । समाजमा कसैलाई बिरामी पर्दा अस्पताल पुर्याउनु, कसैको मृत्यु हुँदा घाट वा क्रियापुत्री भेट्न जानु, वा अफ्ठ्यारोमा परेकालाई सहजीकरण गर्नु सामाजिक काम हो, तर यसको राजनीतिक प्रभाव पनि उत्तिकै हुन्छ ।
एउटा इमानदार राजनीतिक कार्यकर्ताले सधैँ सामाजिक काम गरिरहेको हुन्छ र सामाजिक काम गर्ने व्यक्तिको भूमिका स्वतः राजनीतिक बन्न पुग्छ । त्यसैले नवीन विचार र उत्साहका साथ नेपाली कांग्रेस सामाजिक-राजनीतिक मुद्दाहरूलाई सँगसँगै लिएर जनताको माझमा अगाडि बढिरहेको छ ।
पार्टीभित्रको आन्तरिक विवाद चरम उत्कर्षमा छ । साउन ६ गते बिपी स्मृति दिवसजस्तो अवसरमा पनि अलग-अलग कार्यक्रम भए । बिपीको विचार र एकताको नारा दिने कांग्रेसमा यो अवस्था किन आयो ?
संस्थापन पक्षले बिपी स्मृति दिवसलाई अत्यन्त भव्य, रचनात्मक र वातावरणीय संरक्षणजस्ता उपयोगी कार्यक्रम गरेर मनाएको हो । हामीले बिपीका विचारलाई उजागर गर्दै कसैप्रति पूर्वाग्रह नराखी कार्यक्रम गर्यौँ । तर, हाम्रै केही साथीहरूले बिपीका विचार र योगदानको चर्चा गर्नुको साटो सभापति गगन थापालाई गाली गर्ने मञ्चका रूपमा त्यो दिनलाई प्रयोग गर्नुभयो । बिपी स्मृति दिवसको पवित्र अवसरलाई गगन थापाविरुद्ध तल्लो स्तरको गालीगलौज र भत्र्सना गर्ने थलो बनाइयो । यो बिपी स्मृति दिवस मनाइएको होइन, केवल एउटा व्यक्तिलाई प्रहार गर्ने मञ्च बनाइएको हो भन्ने मेरो स्पष्ट निष्कर्ष छ ।
संस्थापन पक्षले असन्तुष्ट पक्षलाई संवादमा ल्याउन पहल नगरेको आरोप छ नि ? वार्ता र संवाद किन हुन सकिरहेको छैन ?
संस्थापन पक्ष र स्वयं पार्टी सभापतिले विधानको परिधिभित्र रहेर भविष्यमा गलत नजिर नबस्ने गरी सहमति जुटाउन हदैसम्मको लचकता र पहल गर्नुभएको छ । असन्तुष्ट पक्षले अघि सारेका मुख्य पाँचवटा एजेन्डामध्ये तीनवटा सजिलै सम्बोधन गर्न सकिने खालका छन् । जस्तै- क्रियाशील सदस्यता छानबिन समिति, अनुशासन समिति र निर्वाचन समितिमा उहाँहरूलाई उपर्युक्त जिम्मेवारी दिएर अघि बढ्न संस्थापन पक्ष पूर्ण रूपमा तयार छ । तर, उहाँहरू प्रविधिको आधुनिक युगलाई अस्वीकार गर्दै पुरानै क्रियाशील सदस्यताका आधारमा महाधिवेशन हुनुपर्छ भनेर बखेडा झिक्दै हुनुहुन्छ ।
कांग्रेसले अहिले ७ देखि साढे ७ लाख क्रियाशील सदस्यलाई ‘डिजिटल लाइफ सिस्टम’ (डिजिटल प्रणाली)मा आबद्ध गरिसकेको छ । यो पार्टीका लागि ठूलो प्राविधिक फड्को हो । यसलाई अस्वीकार गर्नु कत्तिको व्यावहारिक हो ? समयले यसको मूल्यांकन गर्नेछ ।
जहाँसम्म १४औँ महाधिवेशनका केन्द्रीय समितिलाई समायोजन गर्ने कुरा छ, विधानअनुसार सभापतिले २० प्रतिशत केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ । जसमध्ये १९ जना मनोनीत भइसक्नुभएको छ, जो हिजो उहाँहरूकै समूहमा रहेर काम गरेका योग्य नेताहरू हुनुहुन्छ । बाँकी रहेका स्थानमा पनि उहाँहरूका तर्फबाट उपयुक्त पात्र ल्याउन र वरिष्ठ नेताहरूलाई सम्मानजनक स्थान दिन सभापति तयार हुनुहुन्छ । यतिसम्मको लचकता देखाउँदा पनि अनेक बहाना बनाएर पार्टीभित्र विवाद सिर्जना गर्नु सरासर गलत हो ।
त्यसो भए १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ ? असन्तुष्ट पक्षलाई मिलाएर लैजाने आधार के हुन् ?
आगामी १५औँ महाधिवेशन विधानको अक्षरशः पालना गर्दै, भविष्यका लागि गलत नजिर नबस्ने गरी सबैको सहमतिमा सम्पन्न हुनुपर्छ । यो महाधिवेशन एकताको महाधिवेशन हुनुपर्छ । महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ र प्रतिस्पर्धाबाट जो नेतृत्वमा आउँछ, उसैलाई नेता मानेर अगाडि बढ्ने पद्धति नै लोकतान्त्रिक संस्कार हो ।
अहिलेको कार्यतालिका अनुसार भदौ २ गतेबाट वडा अधिवेशन प्रारम्भ भई असोज १७ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तय भएको छ । यदि समग्र पार्टीको बृहत् एकताका लागि केही समय सार्नुपर्ने अवस्था आएमा मंसिरसम्म लैजान पनि आपत्ति नहोला ।
अहिले कांग्रेस मात्र होइन, समग्र देश र लोकतन्त्र नै गम्भीर संकटमा छ । कांग्रेस कमजोर हुनु भनेको देशको लोकतन्त्र कमजोर हुनु हो र लोकतन्त्र कमजोर हुनु भनेको मुलुक गलत बाटोमा जानु हो । त्यसैले यो संकटको घडीमा असन्तुष्ट पक्षका पाका र वरिष्ठ नेताहरूले गम्भीरता बुझेर छिट्टै सहमतिमा आउनुहुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु ।
असन्तुष्ट पक्षले साउन २९ गतेसम्मको अल्टिमेटम दिएर माग पूरा नभए ‘आफ्नो बाटो लाग्ने’ चेतावनी दिएको छ । उहाँहरूले नयाँ पार्टी खोल्न खोज्नुभएको हो ?
उहाँहरूले के सोचेर त्यो भन्नुभएको हो, उहाँहरूलाई नै थाहा होला । तर, कांग्रेसको विधानअनुसार पार्टी विभाजन नै गरेर जान पनि केन्द्रीय समिति र संसदीय दल दुवैमा कम्तीमा ४० प्रतिशत संख्या चाहिन्छ । इतिहास हेर्ने हो भने, हिजो शेरबहादुर देउवाजीले ४० प्रतिशत केन्द्रीय सदस्य, ४० प्रतिशत सांसद, २८ जना जिल्ला सभापति, ३१ जना मन्त्री र स्वयं प्रधानमन्त्रीको शक्तिशाली पदमा हुँदै पार्टी फुटाउँदा त तीन वर्षभित्र पुनः मूल घरमै फर्कनुपर्ने बाध्यता सिर्जना भएको थियो । त्यो पीडा र इतिहास नेताहरूलाई पक्कै स्मरण होला ।
पार्टीभित्र आफ्ना अभिभावक वा नेतृत्वलाई अलि कडा शब्दमा दबाब दिनु वा धम्क्याउनु स्वाभाविक राजनीतिक शैली हुन सक्छ । धम्क्याउँदैमा पार्टी फुटिहाल्छ भन्ने मलाई लाग्दैन र उहाँहरूले पनि साँच्चै पार्टी फुटाउन खोज्नुभएको हो जस्तो मलाई लाग्दैन । अलि बढी दबाब दिएर आफ्ना माग पूरा गराउने रणनीति मात्र हुन सक्छ । मेरो विनम्र आग्रह छ- मुलुकको यो विषम परिस्थितिमा कांग्रेस एक ढिक्का भएर अघि बढ्नुको कुनै विकल्प छैन ।
असन्तुष्ट पक्ष पार्टीको वैधानिकतालाई लिएर पुनः सर्वोच्च अदालत पुगेको छ, यसप्रति तपाईंको टिप्पणी के छ ?
हेर्नुहोस्, हिजो पार्टीको वैधानिकताका सम्बन्धमा संवैधानिक निकाय ‘निर्वाचन आयोग’ले गगन थापाको नेतृत्वलाई पूर्ण वैधानिकता दिइसकेको छ । त्यसमा असहमति जनाउँदै साथीहरू सर्वोच्च अदालत पुग्नुभयो र सर्वोच्च अदालतले पनि गगन थापाको विशेष महाधिवेशन नै वैध हो भनेर निर्णय गरिसकेको छ ।
एकपटक निर्णय भइसकेको विषयमा पुनः पुनरावलोनमा जाँदैमा सर्वोच्च अदालतले आफ्नो अघिल्लो निर्णय उल्ट्याउँछ भन्ने कुरामा कुनै आधार देखिँदैन । यो केवल आफूलाई चित्त बुझाउने र कानुनी बाटो बाँकी नरहेपछि ‘हामीले अन्तिमसम्म प्रयास गर्यौँ’ भन्नका लागि गरिएको कदम मात्र हो । अदालतको निर्णयपछि उहाँहरू पुनः पार्टीमै एक भएर अघि बढ्ने आधार बन्नेछ भन्ने आशा छ ।
अब अलिकति सरकारको समीक्षा गरौँ । वर्तमान सरकार र देशको समसामयिक राजनीतिक अवस्थालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
सत्तापक्षका लागि रामराज्य होला, तर आमजनताले कुनै रामराज्य महसुस गर्न पाएका छैनन् । वर्तमान सरकार पूर्ण रूपमा निरंकुुश, एकदलीय, अधिनायकवादी र सर्वसत्तावादी प्रवृत्तिमा अगाडि बढेको छ ।
सरकारले गरिब जनताले उपभोग गर्ने स्वास्थ्य, शिक्षा र अत्यावश्यक वस्तुमा भारी कर थोपरेको छ । बिरामी परेर एम्बुलेन्समा उपचार गर्न जाँदासमेत कर असुल्ने सरकार कसरी ‘रामराज्य’ हुन सक्छ ? यो त निरंकुुशताको पराकाष्ठा हो ।
अर्कोतर्फ, संसद्मा दुई-तिहाइ बहुमतले पास गरेको बजेट र करका दरहरूलाई प्रधानमन्त्रीले एउटा ‘फेसबुक स्टाटस’ लेखेकै भरमा फिर्ता लिने काम भयो । संसद् र बजेटको वैधानिकतालाई लत्याएर फेसबुकबाट शासन चलाउने यो कस्तो लोकतन्त्र हो ? प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुहुन्न । उहाँ आफूलाई ‘श्री ३ जंगबहादुर’को शैलीमा प्रस्तुत गर्दै हुनुहुन्छ । आफ्ना निकटस्थ र निश्चित समूहका लागि रामराज्य होला, तर आमनागरिकका लागि यो अधिनायकवाद हो ।
तर सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणमा उल्लेख्य काम गरिरहेको र सामाजिक सञ्जालमा सर्वसाधारणको ठूलो समर्थन रहेको दाबी गर्छ नि ?
सुशासनका कुरा केवल गफमा सीमित छन् । ३५ वर्षमा पुराना दलहरूले देशमा जे-जति विकास, पूर्वाधार र प्रजातान्त्रिक उपलब्धि हासिल गरे, यो सरकारलाई अर्को ३५ वर्ष दिए पनि त्यसको १० प्रतिशत काम गर्ने हैसियत यिनीहरूसँग छैन ।
लगभग चार महिनाको अवधिमा सरकारले राजनीतिक प्रतिशोधका आधारमा केही मान्छेलाई समातेर थुन्नेबाहेक के गर्यो ? भ्रष्टाचार नियन्त्रण गर्ने नै नियत थियो भने विगतका चर्चित भ्रष्टाचार काण्डहरूको निष्पक्ष छानबिन गर्न पूर्वप्रधानन्यायाधीश वा पूर्वन्यायाधीशको अध्यक्षतामा एउटा शक्तिशाली र अधिकारसम्पन्न उच्चस्तरीय छानबिन आयोग बनाउनुपथ्र्यो । तर, मन्त्रालयका पुराना फाइल खोल्न सरकारको आँखा कर्केसमेत परेको छैन । केवल व्यक्ति विशेषलाई समात्ने, १५ दिन हिरासतमा राखेर बदनाम गराउने र कुनै आधार नभएपछि छाडिदिने काम भइरहेको छ ।
सुशासनको अवस्था कस्तो छ भने- दिनढल्दै गर्दा दर्जनौँ सर्वसाधारण र युवाहरू आर्थिक संकटका कारण ‘आत्मदाह’ र आत्महत्या गर्न बाध्य छन् । साना रिक्साचालक र तरकारी व्यापारीको रिक्सा भिरबाट खसालेर आतंकित पारिएको छ । के यही हो सुशासन ?
भ्रष्टाचारका ठूला-ठूला काण्डहरूमा त स्वयम् अर्थमन्त्री र सरकारका प्रमुख पात्रहरूकै नाम जोडिएर आउन थालिसकेको छ । जो मानिसहरू अन्धभक्त भएर गलत काममा पनि ताली बजाउँछन्, उनीहरू नै वास्तविक झोले हुन् । हामी त वैचारिक र इमानदार कार्यकर्ता हौँ । गलतलाई गलत र सहीलाई सही भन्ने आँट कांग्रेसका कार्यकर्तासँग छ । राष्ट्र र जनताको हितविपरीतका कदमविरुद्ध कांग्रेस निरन्तर लडिरहनेछ ।










Facebook Comments