
काठमाडौं । बाढी तथा पहिरोबाट प्रभावित नेपालका लागि चीनले दोस्रो चरणको आपत्कालीन मानवीय सहायता पठाएको छ। राहत सामग्रीसँगै उद्धार तथा राहत कार्यमा सघाउन चीनको सेन्जेनबाट पाँच जना विशेषज्ञसमेत नेपाल आउँदैछन्।
चिनियाँ जनमुक्ति सेनाको वायुसेनाले सञ्चालन गर्ने वाई–२० विमानमार्फत मंगलबार चीनको दक्षिणी ग्वाङडोङ प्रान्तस्थित सेन्जेनबाट राहत सामग्री काठमाडौं पठाइएको हो। चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार सहायता बोकेको विमान मंगलबार दिउँसो सेन्जेन पाओआन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रस्थान गरेको थियो।
चिनियाँ वाणिज्य मन्त्रालयका एक अधिकारीका अनुसार नेपालमा पठाइएको यो चिनियाँ सरकारको दोस्रो चरणको आपत्कालीन सहायता हो। करिब ५.८ टन तौल रहेको राहत सामग्रीमा बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने पानी शुद्धीकरण उपकरण, प्रकाशसम्बन्धी सामग्री, आनुवंशिक परीक्षणका उपकरण र ड्रोनलगायत सामग्री रहेका छन्।
राहत सामग्रीसँगै विमानमा सेन्जेनका पाँच जना विशेषज्ञ पनि सहभागी छन्। उनीहरूले नेपालमा सञ्चालन हुने उद्धार तथा राहत गतिविधिमा आवश्यक प्राविधिक सहयोग गर्ने जनाइएको छ।
नेपालमा पछिल्लो समय बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएपछि चीनले आपत्कालीन सहयोगलाई थप विस्तार गरेको हो। आवश्यक सामग्री तत्काल नेपाल पठाउने व्यवस्थाका लागि चीनको विदेश मन्त्रालय, वाणिज्य मन्त्रालय, भन्सार प्रशासन र चीन अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीबीच समन्वय गरिएको चिनियाँ पक्षले जनाएको छ।
राहत सामग्री नेपाल पठाउनुअघि सेन्जेनमा ती सामग्रीको व्यवस्थापन तथा ढुवानी प्रक्रिया तीव्र पारिएको थियो। चिनियाँ सञ्चारमाध्यमका अनुसार सहायता सामग्री समयमै विमानस्थल पुर्याउन सम्बन्धित अधिकारी तथा निकायले रातभर काम गरेका थिए।
सेन्जेन पाओआन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले राहत सामग्रीका लागि विशेष ‘ग्रीन च्यानल’ उपलब्ध गराएको थियो। यसअन्तर्गत छुट्टै कर्मचारी परिचालन गर्नुका साथै आवश्यक कागजातको अग्रिम जाँच र निरीक्षण प्रक्रिया सरल बनाइएको थियो।
त्यसैगरी, राहत सामग्रीको सुरक्षा जाँच, लोड–अनलोड तथा प्यालेट व्यवस्थापनका लागि विमानस्थलले विशेष कार्यदल परिचालन गरेको थियो। सामग्री विमानस्थलमा आइपुगेपछि सामान्य प्रक्रियाभन्दा प्राथमिकता दिँदै छुट्टै प्रस्थानमार्गबाट लोडिङ क्षेत्रसम्म पुर्याइएको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
चीनले यसअघि पनि बाढी तथा पहिरोबाट प्रभावित नेपाललाई आपत्कालीन राहत उपलब्ध गराएको थियो। पछिल्लो सहायता भने उद्धार कार्यमा आवश्यक पर्ने प्राविधिक सामग्री र विशेषज्ञ जनशक्तिसहित पठाइएको हो।









Facebook Comments