काठमाडौं । चौधरी फाउन्डेसन र नबिल बैंकले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि १५ करोड रुपैयाँ लागतको बहुचरणीय कार्यक्रम घोषणा गरेका छन्।

चौधरी फाउन्डेसन तथा नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले बाढी प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्नेदेखि सुरक्षित आवास, पुनर्स्थापना र दीर्घकालीन जनस्वास्थ्य पूर्वाधार निर्माणसम्मका कार्यक्रम अघि बढाइने जनाएका हुन्।

ad

कार्यक्रमअन्तर्गत तत्काल खाद्यान्न, खानेपानी, तयार खाना, बिस्कुट, लत्ताकपडा, तिरपाल, व्यक्तिगत सरसफाइका सामग्री, आवश्यक खोप तथा स्वास्थ्य सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइनेछ। राहत सामग्री वितरण भदौ ११ गतेदेखि सुरु भइसकेको फाउन्डेसन र बैंकले जनाएको छ।

राहत तथा पुनर्स्थापनाको कामलाई प्रभावकारी बनाउन नुवाकोट र रसुवामा एक–एक गरी दुईवटा व्यवस्थित राहत शिविर स्थापना गरिने भएको छ। फाउन्डेसन र बैंकका अनुसार स्थानीय प्रशासनसँगको समन्वयमा सञ्चालन हुने ती शिविरमा प्रभावित परिवारलाई दैनिक भोजनसहित आवश्यक आधारभूत सुविधा उपलब्ध गराइनेछ।