
मेरो छाया मेरै अवरोधको परिणति
कालो आकृति बनेर मलाई नै पछ्याइरहन्छ
कहिले अग्लो हुन्छ, कहिले पुड्को
आकाशको बदलिँदो प्रकाशजसरी बदलिँदै जान्छ
मेरो छाया मसँग नै कहिले टाढा कहिले नजिक हुँदै जान्छ ।
दिउँसो मेरो छायालाई म वास्ता गर्दिनँ
राति यसले नै मलाई तर्साउँछ
अँध्यारो चिर्न घरमा जसै बत्ती बाल्छु
उज्यालो हुनेबित्तिकै मेरो छाया आइपुगिहाल्छ ।
पुराना दिनको काठमाडौंमा बिजुली बत्ती बलेको हेर्न
हातमा टुकी बाल्नुपर्ने
त्यो टुकी पनि प्राय आफैँले बनाएको हुन्थ्यो
खाली औषधिको सिसीको बिर्कोमा प्वाल पारेर
सिसीभरि मट्टीतेल भरी प्वालबाट सुत्लो छिराएर
एक हातमा बालेको टुकी, अर्को हातले हावा छेकेर
लामो बरन्डामा जब म हिँड्थे
त्यो अलिकतिको उज्यालोमा म डराउँथे
अगाडि केही आउला भनेर
अझ डर पछाडिबाट केहीले तान्ला भनेर
झन् बढी त भर्याङ उक्लिँदा–ओर्लिंदा ।
सबभन्दा ठूलो डर त हावाले त्यो टुकी निभाउला भन्ने
निभ्यो भने अँध्यारोमा मेरो हालत के हुने ?
त्यो सोचले नै म झन् डराउँथे
अनि कराउँथेँ आफन्तलाई बोलाएर
‘तिमी कहाँ छौ ? म बरन्डामा भात खान जाँदै छु’
आदि इत्यादि !
दोहोरो आवाजले भर दिन्थ्यो ठुलो परिवार अटाएको घरमा
तर कतिपय बेला त आफ्नो छाया नै डरलाग्दो भूत बनेको
डरले निलो–कालो भएर शीतांग !
कहाँ छस् भनेर आफन्तले बोलाउँदा बल्ल बहुरेको ।
सानो छँदा कथा धेरैजसो भूतप्रेतकै सुनिन्थ्यो घरमा
राँकेभूत, किचकन्नी र बोक्सीको
हेर्दा उस्तै देखिने पात पनि अनेक जातका
कुनै खास पात बर्जित बोक्सीका लागि
एउटा बुज्रुगले अजमाइस गरे यसलाई
चाडबाडको अवसर पारेर
पूजाआजा चाडबाडमा हामीले खाने बोता टपरीमा
लहरमा बसेकी थिइन् पल्लो घरको छिमेकी बुढी पनि
उनलाई पनि अरूसरह खाना दिइयो
तर त्यो खास पातले गाँसेको बोता टपरीमा
खाने त परै जाओस् उनले हात नै लगाउन सकिनन्
अनि कानमा खासखुस खासखुस सुरु भयो–
‘ती बोक्सी बुढीले दिएको केही नखानू है’ ।
काकाले भनेको सुन्थे–
त्यो दिन काम सकेर आउँदा छिप्पिएको सुनसान रात
गल्लीभित्र लागेदेखि एउटा कालो छायाले पछ्याइरहेको
जसै घरभित्र छिरेर आग्लो लगाए
भयंकर लात हान्यो त्यसले ढोकामा
त्यस्तै कुरा आमाले भनेको सुन्थेँ–
गठेमंगलको भोलिपल्ट बिहान नहुँदै
पुसारको मुमासहित हामी पाँच पशुपति नुहाउन जाँदा
कालो पुलको डाँडाबाट एउटा छाया तल ओर्लियो
हातमा बत्ती लिएर
हामी सबै सास रोकेर एक डल्लो भयौँ
बोक्सीले धोबीखोलामा त्यो बत्ती सेलाएको
त्यसपछि असंख्य बत्तीहरू बहिरहेका
वारपार पूरै खोला ढाकेर
यस्तै कथाहरू सुनेर हुर्किएको म ।
तर अहिले म भन्छु आफ्नो छाया कुमान्छे होइन
त्यो त म आफैँ हु
मैले वास्ता नगरेको आफ्नै व्यक्तित्व
मभित्र निहित मेरै विशेषताको सँगालो
लुकेको मेरो आफ्नै हो, त्यो अचेतनता
मैले दबाएका क्रोध, ईष्र्या, डाहा र छटपटी
मैले नै दफनाएका ती मिठा मेरा आकांक्षाहरू
अपार सम्भावना भएको मेरो आफ्नै सिर्जनशीलता
समग्रमा, म अझै बाँचेको छु भन्ने त्यो बोध
हो, मेरो छाया ।
यो त द्वित्व हो
उज्यालोका लागि अँध्यारो त चाहिन्छ नै
अनि किन म आफ्नै आकृतिबाट अनायास झस्किन्छु ?
झ्वाट्ट आएको परिवर्तित क्रियाको त्रुटिमा डराएर
आफ्नै ओझेलमा लुक्न खोज्छु
म त आफैँले उत्पादन गरेको डरसँग आफैँ डराइरहेको रहेछु ।






Facebook Comments