
काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीसहित बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतलाई तत्काल तीव्र बनाउन सरकारसँग आग्रह गरेका छन्।
बुधबार ओलीको अध्यक्षतामा बसेको एमाले केन्द्रीय सचिवालयको आकस्मिक बैठकले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै राज्यका सबै संयन्त्रलाई प्रभावित क्षेत्रमा परिचालन गर्न माग गरेको हो।
ओलीले क्षतिको पूर्ण विवरण आउन बाँकी रहे पनि महिला, बालबालिका, विद्यार्थी, पर्यटक, सुरक्षाकर्मी र सरकारी कर्मचारीसहित ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेको तथा धेरै नागरिक घाइते भएको बताएका छन्।
उनका अनुसार रसुवाको टिमुरे बजारलगायत क्षेत्रमा घर तथा पसल, पशुपन्छी, भन्सार कार्यालय, प्रहरी चौकी, दूरसञ्चार संरचना, सडक र पुलमा ठूलो क्षति पुगेको छ। जलविद्युत् आयोजना, विद्युत्गृह तथा सबस्टेसन र कृषि क्षेत्रमा समेत बाढीले असर पुर्याएको उनले उल्लेख गरेका छन्।
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र पूर्वी नवलपरासीका नदी तटीय क्षेत्रमा जोखिम कायमै रहेको ओलीले बताएका छन्।
उनले नदी आसपासका बासिन्दालाई सतर्क रहन, जोखिमयुक्त क्षेत्रमा नजान र सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्। स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने निर्देशनलाई कडाइका साथ पालना गर्नसमेत उनले अपिल गरेका छन्।
ओलीले विपद्को समयमा नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता हुनुपर्ने भन्दै बेपत्ताको खोजी, घाइतेको उपचार तथा जोखिममा रहेकालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न ढिलाइ गर्न नहुने बताएका छन्।
एमाले अध्यक्ष ओलीले तत्कालीन राहतसँगै प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि दीर्घकालीन राहत प्याकेज ल्याउन सरकारसँग माग गरेका छन्। संघ, प्रदेश र स्थानीय सरकारसँगै सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज, सामाजिक संघसंस्था र सर्वसाधारणबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ छ।
बाढीमा फसेकाको शीघ्र उद्धार, घाइतेको निःशुल्क तथा प्रभावकारी उपचार र प्रभावितलाई आवश्यक राहत सामग्री तत्काल उपलब्ध गराउन उनले जोड दिएका छन्।
ओलीले एमालेका नेता–कार्यकर्ता, जनसंगठन तथा जनप्रतिनिधिलाई पनि प्रभावित क्षेत्रमा सक्रिय हुन निर्देशन दिएका छन्। स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी खोज, उद्धार तथा राहतका मानवीय कार्यमा अग्रपंक्तिमा खटिन उनले आग्रह गरेका छन्।
सरकारले उद्धार तथा राहतमा कुनै ढिलाइ नगरी उपलब्ध सबै साधनस्रोत परिचालन गर्नुपर्ने ओलीको भनाइ छ। प्रभावित नागरिकको जीवन रक्षा र तत्काल राहतलाई प्राथमिकतामा राखेर काम गर्न उनले सरकारलाई पुनः आग्रह गरेका छन्।









Facebook Comments