
काठमाडौं । व्यवसाय र राजनीतिमा क्रियाशील दाङका किरण किशोर घिमिरेले यतिबेला नेपाली कांग्रेसको १५औं महाधिवेशनमा चुनावी मैदानमा छन् । केन्द्रीय सदस्य (खुला) तर्फ उम्मेदवारी घोषणा गरेर भोट मागिरहेका उनले विचार र दृष्टिकोणलाई युवाको चेतसँग जोड्न मैदानमा उत्रिएको बताए ।
२०३६ सालदेखि राजनीतिक क्षेत्रमा लागेका घिमिरेले विचार र दृष्टिकोणले कांग्रेसलाई नयाँ पुस्तासँग जोड्न केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताएका हुन् ।
म उमेरले प्रौढ भएपनि अवसरले युवा छु, विचार र दृष्टिकोणले युवा छु, कांग्रेसको केन्द्रीय समितिमा रहेर म आफ्नो विचार र दृष्टिकोणलाई युवाको चेतसँग जोड्न चाहन्छु,’ घिमिरेले भने ।
घिमिरेले कांग्रेसलाई अब उपयोगिताको सिद्धान्तबाट अघि बढाउनु पर्ने बताउँदै देशलाई सफल बनाउन निजी क्षेत्रको सहभागितामा नै जोड दिइनु पर्ने उल्लेख गरे।
माग र आवश्यकता अनुसार सम्भावनालाई बोकेर न्याय र निष्ठालाई जोगाउँदै कांग्रेस अघि बढ्दा मुलुकलाई हित हुने दाबी गर्दै उनले त्यसका लागि दृष्टिकोण दिन आफू कांग्रेसको केन्द्रीय समितिमा भित्रन चाहेको बताए।
वर्तमान कांग्रेस भित्र चार पुस्ता जोडिएको उल्लेख गर्दै उनले चारै पुस्तालाई आफुले पार्टी भित्र रहेर समन्वय गराउने दाबी पनि गरे।









Facebook Comments