काठमाडौँ । नेपाली कांग्रेसले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि पार्टीका निर्धारित सबै कार्यक्रम स्थगित गरेर उद्धार, राहत तथा विपद् व्यवस्थापनमा केन्द्रित हुने निर्णय गरेको छ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको आकस्मिक केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापति गगनकुमार थापाले बाढीबाट उत्पन्न परिस्थितिलाई गम्भीर रूपमा लिँदै पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई तत्काल राहत र उद्धारमा परिचालन हुन निर्देशन दिएका हुन्।

ad

बाढीका कारण प्रभावित क्षेत्रमा सहयोगका लागि आयोजना गरिएको ‘ग्रिन टेबल’ कार्यक्रम र बिहीबारका लागि तय गरिएको ‘महिला उद्यमी सम्मेलन’ समेत स्थगित गरिएको थापाले जानकारी दिए।

उनले भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय क्षेत्र तथा आसपासका बस्तीमा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरे। साथै, जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्न पार्टीका स्थानीय संरचना र सदस्यहरूलाई सक्रिय हुन निर्देशन दिए।

थापाले विपद्को सामना गर्न सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्नुपर्ने र तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। विपद् व्यवस्थापनमा सरकारका प्रयासलाई कांग्रेसले पूर्ण सहयोग गर्ने उनको भनाइ थियो।

कांग्रेस सभापतिले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत प्रभावित जिल्लाका पार्टी समिति, नेतृत्व र सदस्यहरूलाई आफ्नो सुरक्षालाई प्राथमिकतामा राख्दै स्थानीय स्तरमा उद्धार तथा राहतमा जुट्न अपिल गरेका छन्।

उनका अनुसार कांग्रेसका सबै तहका नेता तथा कार्यकर्ताले आफू सुरक्षित रहेर आफ्नो क्षमता र उपलब्ध स्रोतअनुसार खोजी, उद्धार तथा राहतमा सहयोग गर्नेछन्। यसका लागि केन्द्रीय कार्यालयबाट हुने नियमित कार्यक्रमसमेत स्थगित गरी पार्टीको ध्यान विपद् व्यवस्थापनमा केन्द्रित गरिएको छ।

बाढी प्रभावितका लागि आवश्यक सहयोग जुटाउन रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यको संयोजकत्वमा विशेष पहल गर्ने निर्णयसमेत कांग्रेसले गरेको छ। आचार्यको नेतृत्वमा सरकारसँग समन्वय गर्दै देशभरका कांग्रेस नेता तथा कार्यकर्ताबाट राहतका लागि सहयोग संकलन र परिचालन गरिने थापाले जानकारी दिए।

कांग्रेसले तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान र सम्भावित थप जोखिमप्रति सचेत रहनसमेत आग्रह गरेको छ।