
काठमाडौं । देशभर खाना पकाउने एलपिजी ग्यासको तीव्र अभाव र हाहाकार मच्चिरहँदा एकातिर सर्वसाधारण नागरिक चरम सास्ती भोग्न बाध्य छन् भने अर्कोतिर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका हतारोमा गरिएका कदम र स्टन्टबाजीले व्यवसायीहरूसमेत आतंकित बनेका छन् ।
ग्यास नपाएर भौँतारिएका उपभोक्ताहरू दिनभर लाइनमा बस्दासमेत रित्तो सिलिन्डर लिएर घर फर्किनुपर्ने बाध्यतामा छन् । ग्यास डिपोहरूले नागरिकता मागेपछि गोजीमा नागरिकताको प्रतिलिपि बोकेर हिँडेको धेरै दिन हुँदा पनि ग्यास नपाएको गुनासो आमउपभोक्ताले गरिरहेका छन् ।
ग्यास अभावका कारण अध्ययनरत विद्यार्थी, बालबालिका र वृद्धवृद्धालाई अप्ठ्यारो परेको छ भने कतिपय त जंकफुड खान बाध्य भएका समाचारहरू आइरहेका छन् ।
बजारमा ग्यासको हाहाकार मच्चिरहँदा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले देखाएको अनुगमनको तत्परता भने ‘फोटोग्राफी स्टन्ट’मा मात्र सीमित भएको उपभोक्ताहरूको आरोप छ । मन्त्री टोलीसहित निरीक्षणमा जाने र आश्वासन बाँड्ने गरे पनि वास्तविकता भने बदलिएको छैन ।
उपभोक्ता अधिकारकर्मीहरूका अनुसार बजारमा वास्तविक कालोबजारी रोक्नुको सट्टा अनुगमनको नाटक गरेर सस्तो प्रचारबाजी गर्दा सर्वसाधारणले झनै ठूलो सास्ती भोग्नुपरेको छ ।
काठमाडौंस्थित पाँचतारे होटल ¥याडिसनमा ठूलो परिमाणमा ग्यास सिलिन्डर मौज्दात रहेको भन्दै मन्त्रालयले छापा मारेर ग्यास लुकाएको आशयको विवरण सार्वजनिक गरेपछि नयाँ विवाद नै सिर्जना भएको छ । मन्त्रालयले ¥याडिसनमा भरिएका र प्रयोग भइरहेका गरी दुई सयभन्दा बढी सिलिन्डर भेटिएको जनाएको थियो ।
तर, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने मन्त्रालयको उक्त दाबीको खण्डन गरिदियो । विभागका सूचना अधिकारी अनिल किराँतीका अनुसार अनुगमन टोलीले त्यहाँ ग्यास लुकाएको नभई नियमित भण्डारण रहेको स्पष्ट पारेका छन् । विभागले सोल्टी, एभरेस्ट, द्वारिकाजजस्ता होटलमा पनि ग्यास नलुकाइएको पुष्टि गरेको छ ।
होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाहले होटल उद्योगको प्रकृति नबुझी गरिएको यस्तो कदमले व्यवसायीलाई आतंकित बनाएको बताए । सयौँ कोठा र ठूला बैंक्वेट चलाउने पाँचतारे होटलले कालोबजारीका लागि नभई पाहुनालाई सेवा दिन आवश्यक पूर्वतयारीस्वरूप ग्यास राखिने उनको भनाइ छ ।
हानका प्रमुख कार्यकारी अधिकृत टेकबहादुर महतले सरकारले होटलमा कति ग्यास राख्न पाइने भन्ने स्पष्ट मापदण्ड नै नबनाएको उल्लेख गरे । सेफ एसोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष रेशमकुमार लामाले ठूला होटलमा दैनिक १०–१२ वटा सिलिन्डर सामान्य रूपमै खपत हुने भएकाले यसलाई कालोबजारी भन्न नमिल्ने बताए । व्यवसायीहरूले राज्यलाई सहयोग गर्न आफूहरू तयार रहेको, तर व्यावहारिक मापदण्ड र संवादबिना व्यवसायीलाई अपराधीझैँ देखाउने सरकारी शैलीप्रति तीव्र असन्तुष्टि जनाएका छन् ।









Facebook Comments