
काठमाडौं । संसद्को मूल ढोकामा रहेको हाजिरी रजिस्टरमा रातो मसीले सही धस्काउने, दिनको दुई हजार भत्ता र गाडी भाडा सुनिश्चित गर्ने अनि बैठकको ‘गम्भीर’ छलफल चलिरहँदा एकाएक ‘मिस्टर इन्भिजिबल’ बनेर गायब हुने ! नेपाली राजनीतिको यो निकै पुरानो परम्परालाई झन्डै दुईतिहाई बहुमतप्राप्त राजनीतिक दलका प्रतिनिधिहरूले प्रतिनिधिसभामा मञ्चन गरिरहेका छन् । विगतका प्रतिनिधिसभामा यस्ता घटना नभएका होइनन् । त्यतिबेला प्रतिपक्षमा बसेको हालको सत्तारुढ दल रास्वपाले पुराना दलहरूलाई भत्ताका लागि मात्रै संसद्मा हाजिर गरेको भन्दै आरोप लगाउने गरेको थियो । तर, अहिले सत्तामा आफँै छ, संसदमा झन्डै दुईतिहाइ बहुमत छ । संसद् सचिवालयको मंगलबारको रेकर्ड हेर्ने हो २२३ जना माननीयहरू संसद् भवन छिरेका थिए । लेखाशाखाको हिसाब–किताबअनुसार २२३ जनाको २ हजारका दरले सोझै ४ लाख ४६ हजार रुपैयाँ भत्ता पाक्यो । तर, जब ‘खानी तथा खनिज पदार्थसम्बन्धी विधेयक’लाई निर्णयार्थ पेस गर्ने पालो आयो, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सचेतक निश्कल राईले कोरम (गणपूरक संख्या) यकिन गर्न भनेपछि घण्टी बज्यो र प्रक्रिया पूरा गरेर सांसदको संख्या यकिन गर्दा जम्मा ६१ जना भेटिए । कानुनअनुसार कुनै पनि प्रस्ताव पास गर्न कम्तीमा ६९ जना (एकचौथाइ) चाहिन्छ ।
संसद्मा कोरम पुर्याउने पहिलो र मुख्य दायित्व सत्तारुढ दल (रास्वपा)का प्रमुख सचेतक र सचेतकहरूको हो । संसद् सचिवालयले गाडी, टेलिफोन र सचिवालय खर्च दिएर पालेका सचेतकहरूले आफ्नै विधेयक पास गराउन ६९ जना सांसद हलमा राख्न सकेनन् ।
सांसदहरू त नयाँ छन् । तर, सदन चलाउने जिम्मा जति सभामुखकको हो त्यति नै बढी जिम्मेवारी प्रधानमन्त्रीको पनि हुन्छ । तर, प्रधानमन्त्री बालेन शाहले यसअघि दिएको अभिव्यक्ति विवादित भएपछि लगातारजसो विपक्षीले विरोध गर्दै आएका छन् भने प्रधानमन्त्री पनि संसद्मा आक्कलझुक्ल देखिए पनि विपक्षीलाई सम्बोधन गरेका छैनन् । यसैगरी संसद्मा एकजना मात्रै पूर्वप्रधामन्त्री छन् । उनी हुन्, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, उनी पनि कहिलेकाहीँ झुल्किने गरेका छन् । त्यसैगरी, दुईतिहाइनजिकको बहुमतप्राप्त सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने पनि संसद्मा कहिलेकाहीँ आउँछन् भने अहिलेसम्म एकपटक मात्रै बोलेका छन् । जब शीर्ष नेताहरूकै लागि संसद् ‘अप्सनल क्लास’ (ऐच्छिक विषय)जस्तो बन्छ, तब अन्य सांसदहरूले ‘पूरा पिरियड’ बस्नुपर्छ भन्ने गम्भीरता हराउनु कुन ठूलो कुरा भयो र ?
संसदमा सांसदहरू हिँडेर प्रस्ताव नै अघि बढाउन सभामुख असफल भएपछि रास्वपाकै सांसद गणेश कार्कीले सोसल मिडियामा लेखे –‘कोरमसम्म पुगेन । लाज मान्नुपर्ने ठाउँ यही हो । आफू दिनभर सदनमा उपस्थित भएको भए पनि अन्यको अनुपस्थितिका कारण माफी माग्छु । गनौँ, भनेर हाम्रो स्वभाव सार्वजनिक गरिदिएकोमा सांसद निश्कल राईलाई धन्यवाद ।’









Facebook Comments