काठमाडौं । जेनजी आन्दोलनको बलमा सत्ताबाट बाहिरिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको नेतृत्व छाड्नुपर्ने चौतर्फी दबाब बढ्दै गएको त छ नै, सधैँ उनी निकट भएर फाइदा लिएकाहरूले पनि छाड्न थालेपछि सबै मोर्चामा असफल बन्दै गएको बुझिएको छ ।  म नै सर्वेसर्वा म नै एमाले जसरी पार्टी चलाउन खोजे पनि पछिल्लो निर्वाचनमा एमालेको लज्जास्पद पराजयपछि उनको विकल्प खोज्न थालिएको छ । तर, अहिले पनि पार्टीमा बहुमत रहेको दाबी गर्दै पेलपाल पारेर अघि बढ्न खोज्दा कोशी र बागमती प्रदेशको मुख्यमन्त्रीमा भने आफूअनुकूल निर्णय गराउन नसकेर ब्याक भएपछि कुनै बेलाका शक्तिशाली अब क्रमशः पार्टी र सत्ता सबै मोर्चामा एक्लिन थालेको वामविश्लेषकहरू बताउँछन् ।  

एमालेले उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठन गरेको निर्वाचन समीक्षा र समग्र पार्टी पुनर्गठनसम्बन्धी कार्यदलले ओलीसहितको कार्यसमितिको वैधानिकता सकिएको निष्कर्षसहित तत्काल पार्टी पुनर्गठन गर्नुपर्ने सुझाव दिए पनि ओली तत्काल नेतृत्व छाड्ने पक्षमा नदेखिँदा फेरि एमालेमा भाँडभैलोको स्थिति देखापरेको छ । ओलीको हठले एमालेका पदाधिकारी तथा नेताहरू भने हैरान बन्न पुगेका छन् । आफूलाई नेतृत्व छाड्न दबाब बढ्न थालेपछि अध्यक्ष ओलीले आफ्नाविरुद्ध लागेका अन्य नेताहरूसँग तीव्र रोष तथा आक्रोश पोखिरहेको एकजना एमालेका नेताले देशान्तरलाई बताए । 

ad

कार्यदलले झन्डै एक महिना विभिन्न प्रदेशमा सुझाव संकलन गरेर प्रतिवेदन तयार पारेको छ । प्रतिवेदन मस्यौदा लेखनको काम पाएका कार्यदलका सदस्यसचिवको भूमिकामा रहेका महासचिव शंकर पोखरेलले संयोजक थापालाई हेर्न भनेर दिएको प्रतिवेदन थापाले अध्यक्ष ओलीलाई सुटुक्क बुझाएपछि अहिले कार्यदलमा नै खटपट देखिएको छ । कार्यदलमा प्रतिवेदनको मस्यौदामाथि छलफल गरी प्राप्त सुझावका आधारमा मात्र अध्यक्षलाई बुझाउने सहमति भए पनि संयोजकले सिधै अध्यक्षलाई प्रतिवेदन बुझाएकोमा अन्य सदस्यहरूले असन्तुष्टि जनाएका छन् । कार्यदलमा उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल र पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट, सचिवहरू छविलाल विश्वकर्मा, पद्मा अर्याल, भानुभक्त ढकालसहित ९ वटै प्रदेशका इन्चार्ज सदस्य रहेका छन् । कार्यदलले कार्यविधि तयार गरी सातै प्रदेश, विभिन्न जनसंगठन तथा अन्य सम्बन्धित निकाय गरी १३ वटा संरचनाबाट सुझाव संकलन गरेको थियो । करिब ८५ प्रतिशत सहभागीले अहिलेको नेतृत्वबाट पार्टी अघि बढ्न नसक्ने ठहर गर्दै नेतृत्व परिवर्तनको पक्षमा आफ्नो धारणा राखेको एमाले निकट समाचारस्रोतले जनाएको छ । 

पार्टी पुनर्गठनका लागि तीव्र दबाब व्यहोरिरहेका अध्यक्ष ओलीले आफूलाई रक्षात्मक अवस्थामा उभ्याउँदै प्रदेशका मुख्यमन्त्री परिवर्तन गर्न खोजे तर सफल हुन सकेनन् । ओलीले बाग्मती प्रदेशमा संसदीय दलका नेता जगन्नाथ थपलियालाई हटाएर किरण थापालाई संसदीय दलको नेता बनाई मुख्यमन्त्री बनाउने प्रयास गरे । तर, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल पक्षको विरोधपछि उनी पछि हट्न बाध्य भए । यस्तै, कोशी प्रदेशमा ओलीले मुख्य मन्त्री हिक्मत कार्कीलाई राजीनामा गर्न दबाब बढाए पनि कार्कीले ओलीको एकल निर्देशन आफूले नमान्ने चेतावनी दिएपछि ओलीको प्रयास सफल हुन सकेन । लुम्बिनी प्रदेशमा पनि मुख्यमन्त्री चेतनारायण आचार्यलाई हटाएर भूमिश्वर ढकाललाई मुख्यमन्त्री बनाउने ओलीको प्रयास असफल भयो ।