काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले व्यवसायी तथा गैरआवासीय नेपाली उपेन्द्र महतोसँग विभिन्न आर्थिक कारोबारसम्बन्धी विषयमा अनुसन्धान अघि बढाएको छ। अनुसन्धानमा विदेशी मुद्रा अपचलन, स्रोत नखुलेको सम्पत्तिको कारोबार, एनसेलको सेयर किनबेचसँग जोडिएका विषय तथा सम्भावित पुँजीगत लाभकर दायित्व समेटिएका छन्।

प्रहरी स्रोतका अनुसार सीआईबीले महतोसँग बयान लिने क्रममा एनसेलको २० प्रतिशत सेयर बिक्रीबाट पुँजीगत लाभकर तिर्नुपर्ने अवस्था सिर्जना भएको थियो वा थिएन भन्ने विषयमा पनि छानबिन गरिरहेको छ। यस सम्बन्धमा करसम्बन्धी कानुनी दायित्वको परीक्षण सम्बन्धित निकायबाट भइरहेको बताइएको छ।

ad

अनुसन्धानको अर्को पाटो टेलियासोनेराले आफ्नो ८० प्रतिशत सेयर एक्सियाटालाई हस्तान्तरण गरेको कारोबारसँग सम्बन्धित सम्भावित कर दायित्वसँग जोडिएको छ। यी दुई सेयर कारोबारलाई कानुनी रूपमा फरक–फरक आधारमा मूल्यांकन गर्नुपर्ने माग विगतदेखि उठ्दै आएको छ।

यसअघि महालेखापरीक्षकको २०७३ सालको प्रतिवेदनमा एनसेलको सेयर कारोबारसँग सम्बन्धित कर, ब्याज र अन्य दायित्व गरी करिब ६ अर्ब रुपैयाँ असुल गर्नुपर्ने उल्लेख गरिएको थियो। त्यसयता ब्याज र जरिवाना थपिँदा उक्त दायित्व अझ बढेको हुन सक्ने अनुमान गरिएको छ।

सीआईबीले पछिल्ला दिनमा ठूला आर्थिक कारोबार तथा प्रभावशाली व्यक्तिसँग सम्बन्धित मुद्दालाई पनि अनुसन्धानको दायरामा ल्याउन थालेको देखिएको छ। अनुसन्धानको निष्कर्ष भने प्रमाण संकलन र कानुनी प्रक्रियापछि मात्रै स्पष्ट हुने प्रहरी स्रोतले जनाएको छ।