प्रत्येक नदीको औकात हुन्छ

तर सबै नदी कोशी बन्न सक्दैन

ad

न गण्डकी

न अयोध्यामा पुगेपछि सरयू भनिने हाम्रै कर्णाली नै ।

 

सगरको यात्रामा थाकेर हलचल गर्न नसक्दा

आफैँ सकिएर सहस्रधारा झार्दा धरतीसँगको मिलन

समयको गतिसँगै धरा–आकृतिसँगको अनवरत सहवास

कठांग्रिएर हलचल गर्न नसक्दाको अवस्थामा पनि

न्यानो स्पर्श पाउँदाको चपलतामा

चलमलाएर आफ्नो बाटो खोज्दा

एउटा सानो झरनाबाट सुरु भएको यात्रा

भ्याएसम्म सबैलाई समेट्दै जाँदा

सँगालिएर विराट जलप्रवाह बनेको

ठुलो बन्न धेरैलाई समेट्न सक्नुपर्छ

भएकोबाट पनि टुक्रिँदै गएमा भंगालो मात्र बनिन्छ ।

 

सँगाल्न सक्यो भने

कहाँ कहाँ पुगिन्छ कहाँ–कहाँ ?

घुम्ती हुँदै, गाउँ बस्ती जोड्दै

कति घाट, कति मेलापात

दोभानमा मिसिँदै

त्यही सुसाएको आवाजमा हो माटो बोल्ने

खुसीमा झुलेर धानका बालाहरू मुस्काउने

तर, रोकिन सक्दैन प्रवाहले दायाँ बायाँ हेर्न

कहाँ विश्राम गर्नु पाउनु गन्तव्यमा नपुगी ?

गइरहेको अगाडि मिठो धुन गाएर

उठ हो उठ भन्दै सबैलाई जगाएर

आफ्नो यात्राको अन्तिम विश्रामतर्फ ।

 

जसले सँगाल्न सक्छ उसैको औकात हुन्छ

परिवार सँगाल्न सक्ने बलियो हुन्छ

अनि अरू धेरैलाई पनि सँगाल्न सक्छ

जनता सँगाल्न सक्नेले मुलुकको अगुवाइ गर्छ

जीवनको हरेक क्षेत्रमा यस्तै नै हो

ज्ञान सँगाल्न सक्नेले उन्नयनको यात्रा भेट्न सक्छ

जसले विचार सँगाल्न सक्छ

उसले नै हो वैचारिक दिग्दर्शन दिन सक्ने

सँगाल्न नसक्ने मान्छे के हुन्छ ?

टौवाको कौवाजस्तो फगत कराइरहेको

या गुँडमा बसेर घुरघुर घुरघुर गरिरहेको ।

 

पानी लिएर पानीसँगै खेल्दै जान्छ नदी

भावलाई लिएर शब्दसँग खेल्ने शिल्पकार हो कवि

औकात आफ्नो आफ्नो

हरेक नदीको बहने धर्म आफ्नो प्रवाह बोकेर

हरेक कविको भाव प्रवाहमा लहरिने धर्म

प्रकृतिसँग मान्छेको वैरभावको परिणति भोग्दै

नदी नसोचेर प्रकृतिसँग मिलेर जाँदा गन्तव्य फेला पार्छ

र, आफ्नो जलकण अस्तित्वबाट नै फेरि उठ्छ

कवि मानवले सोचेर प्रकृतिसँग वैमनस्य गर्दा

भाव बहाव गन्तव्यहीन गन्तव्यमा

कुन कणबाट कसरी उठ्ने हो ?

जो जहाँबाट उठे पनि या त्यहीँ बिलाए पनि

फेरि पनि प्रश्न औकातकै

उत्तर पनि औकातबाटै

औकात आफ्नो आफ्नो ।