
काठमाडौँ । नेपाली कांग्रेसका राष्ट्रिय सभाका प्रमुख सचेतक पदम परियारले भदौ २३ गतेको जेन्सी आन्दोलन सत्ता फेर्नका लागि मात्र नभई समग्र शासकीय प्रणाली र राजनीतिक संस्कार सुधारका लागि भएको बताएका छन्। बुधबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उनले नयाँ अनुहार सरकारमा आउँदैमा वा कुर्सी परिवर्तन हुँदैमा स्वतः राजनीति परिवर्तन नहुने भन्दै परिणाममुखी काम गर्न सरकारको ध्यानाकर्षण गराए।
‘भदौ २३ को आन्दोलन अचानक आकाशबाट खसेको घटना थिएन। यो वर्षौँदेखि नेपाली समाजभित्र थुप्रिँदै आएको असन्तुष्टिको विस्फोट थियो,’ जेन्सी आन्दोलनको पृष्ठभूमि स्मरण गराउँदै प्रमुख सचेतक परियारले भने, ‘सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध आन्दोलनको तात्कालिक झिल्को मात्रै थियो। बारुद त वर्षौँदेखि भ्रष्टाचार, बेरोजगारी, राजनीतिक पहुँचवाद, नातावाद र अवसर नपाएर विदेशिने युवाको पीडाका रूपमा जम्मा भइरहेको थियो।’
बीपी कोइरालाको ११३ औँ जन्मजयन्ती र जेन्सी आन्दोलनको एक वर्ष पूरा भएको सन्दर्भ जोड्दै नेता परियारले भावुक शैलीमा आफ्नो सम्बोधन सुरु गरेका थिए। उनले बीपी कोइरालाले नेपाली जनतालाई ‘रैतीबाट नागरिक’ बनाउन खेलेको ऐतिहासिक भूमिकाको स्मरण गर्दै आदरभाव व्यक्त गरे। साथै, गत वर्षको अन्योल र त्रासमय वातावरणमा सुशासन र भ्रष्टाचार अन्त्यको माग राख्दै आन्दोलनमा उत्रिएर वीरगति प्राप्त गर्ने सम्पूर्ण सहिदहरूप्रति श्रद्धासुमन अर्पण गरे।
आन्दोलनपछिको राजनीतिक घटनाक्रमबारे बोल्दै उनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन हुनु र त्यसपछिको निर्वाचनबाट बालेन शाह प्रधानमन्त्री बन्नुलाई केवल एउटा व्यक्तिको सफलताभन्दा पनि नयाँ पुस्ताको सन्देशका रूपमा लिनुपर्ने बताए। ‘सम्माननीय बालेन शाह प्रधानमन्त्री बन्नु केवल व्यक्तिको सफलता होइन, यो एउटा पुस्ताको अपेक्षा र पुरानो राजनीतिक संस्कारप्रतिको असन्तुष्टि हो,’ उनले थपे, ‘हामीलाई पुरानै भाषण सुन्नु छैन, अब परिणाम चाहिएको छ।’
सरकारको मूल्यांकन घोषणापत्रबाट नभई उसले दिने परिणामबाट हुने उल्लेख गर्दै परियारले भ्रष्टाचारविरुद्धको कारबाही निष्पक्ष र प्रमाणमा आधारित हुनुपर्नेमा जोड दिए। ‘भ्रष्टाचार विरुद्धको कारबाही पार्टी हेरेर होइन, प्रमाण हेरेर हुनुपर्छ। सत्तापक्ष होस् वा प्रतिपक्ष, नयाँ दल होस् वा पुरानो, कानुनको आँखामा सबै बराबर हुनुपर्छ,’ उनले भने, ‘यदि कसैलाई बचाउने र कसैलाई मात्र समात्ने प्रवृत्ति देखियो भने जनताले त्यसलाई न्याय होइन, प्रतिशोधका रूपमा बुझ्नेछन्। प्रतिशोध होइन न्याय चाहिन्छ, प्रचार होइन प्रमाण चाहिन्छ, नारा होइन परिणाम चाहिन्छ।’
देशमा अझै पनि बेरोजगारी, युवाको पलायन, किसानको समस्या र सरकारी कार्यालयमा सेवाग्राहीले भोग्नुपरेको सास्ती उस्तै रहेको औँल्याउँदै उनले सरकारसामु प्रश्न तेर्स्याए, ‘प्रधानमन्त्री बदलियो तर के नेपाली नागरिकको भविष्य बदलियो? नारा बदलियो तर के नागरिकको जीवन बदलियो?’
सम्बोधनको अन्त्यमा प्रमुख सचेतक परियारले भदौ २३ को दिनलाई राजनीतिक सफलताको कथा मात्र नबनाई जनताको गम्भीर चेतावनीका रूपमा लिन सरकार र राजनीतिक दलहरूलाई आग्रह गरे। ‘एउटा प्रधानमन्त्री हटाउनु क्रान्ति हुन सक्छ, तर प्रणाली सुधार्नु वास्तविक परिवर्तन हो,’ उनले चेतावनी दिँदै भने, ‘यदि हामीले आन्दोलनको पीडा र युवाको आक्रोशलाई बुझ्न सकेनौँ भने अर्को आन्दोलनको कारण खोज्दै बस्नुपर्नेछ। त्यसैले भदौ २३ लाई केवल आन्दोलनको दिन होइन, नयाँ नेपालको सुरुवातको दिन बनाउनुपर्छ।’









Facebook Comments