
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गत भदौ २३ गते भएको घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्। आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा भिडियो सन्देश जारी गर्दै उनले शान्तिपूर्ण रूपमा असन्तुष्टि व्यक्त गरिरहेका युवामाथि राज्यबाट ठूलो बल प्रयोग र दमन भएको उल्लेख गरे।
घटनामा नौजवानहरूको मृत्यु हुनुको कारण र त्यसको जिम्मेवारीबारे स्पष्ट रूपमा सत्य बाहिर आउनुपर्नेमा जोड दिँदै थापाले प्रश्न गरे, ‘ती नौजवानहरू किन मारिए? के कारणले गर्दा मारिए? के यसको जिम्मेवारी कसैले लिनुपर्दैन? के सत्यतथ्य बाहिर आउनुपर्दैन? के सत्य स्थापित हुनुपर्दैन?’ उनले केही व्यक्तिलाई पक्राउ गर्दैमा मात्र राज्यको जिम्मेवारी पूरा नहुने प्रस्ट पार्दै सत्यतथ्य सार्वजनिक गरी गलत गर्ने जोकोहीले पनि दण्ड पाउनुपर्ने बताए।
भदौ २३ अघि नै तत्कालीन सरकारलाई नागरिकमा बढिरहेको असन्तुष्टिबारे सचेत गराएको स्मरण गर्दै उनले समयमै सुधार गर्न नसक्दा ठूलो असन्तुष्टि विस्फोट भएको स्वीकार गरे। त्यो दिन सडकमा युवाहरू केवल सरकारविरुद्ध नाराबाजी गर्न मात्र नभई भ्रष्टाचारमुक्त राज्य, जवाफदेहिता, सुशासन र समान अवसरको माग गर्दै उत्रिएको उनको भनाइ छ।
युवाहरूले उठाएका मागहरूलाई कुनै एक दल वा व्यक्तिले मात्र आफ्नो स्वामित्वमा लिन नसक्ने बताउँदै उनले त्यो दिन सडकमा एउटा पुस्ता नै आएको उल्लेख गरे। थापाले भने, ‘म र तपाईंहरूको मागअनुसार बदलिएको नेपाली कांग्रेसले आफ्नो भागमा परेको जिम्मेवारी पूरा गर्छ, यो हाम्रो बाचा हो।’ भ्रष्टाचारमुक्त, जवाफदेही र सुशासनयुक्त समाजका निम्ति युवाहरूले दिएको शहादतलाई खेर जान नदिने उनले दृढ संकल्प व्यक्त गरे।









Facebook Comments