
ऊ मेरो अनन्य मित्र
एक दिन मैले देखेँ ऊ मेरो शत्रुसँग हाँसेर बोलिरहेको
बोझिलो विद्वता बोकेर साँघुरिँदै गएको मनले भन्यो–
‘ऊ त मेरो शत्रुमित्र रहेछ’
त्यस दिनदेखि मैले उसलाई मित्र मान्न छाडेँ
छोटो जिन्दगीको लामो सहवासमा
ऊसँगका मेरा संवेदनाहरू
खहरे सुकेझैँ सुक्यो
एकै नीमेषमा–
रानी उडेपछिको सुनसान मौरीको घारजस्तो बन्यो ।
यस्तो पनि के संवेदना ?
जहाँ प्रतीति छैन
न कुनै चेत–भाव उठिरहेको
न कुनै वेदना अल्झिरहेको
खाली बोतलजस्तो सबै रित्तिएको
ठाडो पनि नराखेर लडाइएको
आफैँसँग गुनगुनाएको बेसुरा गीतमा
अझ आफूलाई नै अब्बल ठानेँ मैले ।
यो मन–
एकोहोरोपनामा वशीभूत
लाख कोसिस गरे पनि पटक्क नमान्ने
यी आँखाहरू–
रातो भएर झन् ठूलठूला भएका
एकपटक तरेपछि
फर्केर हेर्नै नसक्ने
कोमल चमक त खै !
कता हो कता ?
घनीभूत बादलभित्र हराएको स्मृतिसरह भयो ।
मित्रता शाश्वत हुन्छ
अनि त अन्तर मनको झंकार बन्छ
त्यसमा अग्लिँदै जाने अहंकार हुँदैन
तरुनो हिमालले त एउटा विन्दुमा पुगेपछि रोकिनुपर्छ
अझ अग्लो हुन सक्दैन
तर मेरो अहंकार भने रोकिने नाम लिँदैन ।
खै ! मैले कहिले बुझ्नै सकिनँ
यत्रो षट्शास्त्री भएर पनि किन भ्रान्त ?
क्लान्त मन बडबडाई मात्र रहन्छ
कनाइदिएपछि बल्ल प्रिय मित्रको अनुभूति हुने
त्यो आनन्दमा रम्ने भएर होला
मनले कहिल्यै प्रश्न गरेन
किन साथीले मलाई कन्याउनुपर्ने ?
डिफल्ट सेटिङ नै त्यस्तो भएर होला
फ्याक्ट्रीबाट बनेर आएकै त्यस्तो म के गरूँ ?
त्यसैले म जस्तो छु, यस्तै छु
मैले साथी भनेपछि कत्रो इज्जत भइसक्यो उसको
अकासिएको चंगाजस्तो
के त्यो चानचुने कुरा हो ?
विनिमय साट्नु त प¥यो नि !
राजनीति त झन् यस्तै विनिमयको खेला
दास बनाएर राखेकाहरूलाई पनि
साथी भन्नुपर्ने
तर । दास कसरी साथी हुने ?
न मनले मान्छ, न कर्मले
दासले पनि अरूभन्दा फरक भन्न पाइन्छ ?
यी सुँगुरहरू !
सायद यसैले होला मौसमअनुसार कित्ता परिवर्तन भइरहने
भत्ता खानका लागि यस्तै कित्तैकित्ताले बनेको सत्ता
म त राजनीतिसँग सरोकार नै नभएको मान्छे
खै कसरी बन्यो यस्तो मानसिकता ?
साँच्चिकै साथीबीच तलमाथि नै हुँदैन
घरको बराबरीको जिरो लेभलजस्तो
न एक इन्ची कोही तल, न माथि
मित्रता संवेदनाको झंकार हो
त्यो झंकारले इमान मात्र प्रतिध्वनित गर्छ
सागरजस्तो फैलिएको विराट
अझ सागरभन्दा पनि गहिरो ।
त्यसैले मित्रताले दासत्व स्वीकार गर्दैन
त्यो सोच नै एउटा व्यर्थता हो
कहिले निको नहुने रोग
मित्रता त सास फेर्ने फराकिलो ठाउँ
हो– विनिमय हुन्छ, साटासाट हुन्छ
तर जे हुन्छ त्यो मित्रताको स्पन्दन हो
कृष्ण–सुदामाको बन्धन
त्यो मिलनको अश्रुधारा समभावको
पवित्रता
त्यो पवित्रता नै भगीरथले पृथ्वीमा ल्याएको गंगा
जहाँ केवल विश्वास मात्र हुन्छ
विश्वासको यो प्रगाढताबाट जागृत हुने एक उन्नयन
मित्रताको त्यस्तो उन्नयनमा
शत्रुमित्र भन्ने विभेद नै हुँदैन ।










Facebook Comments