दोहा, कतार । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) कतारको आयोजनामा कतारका स्वर्गीय पूर्व अमिर शेख खलिफा बिन हमाद अल थानीको कतारको विकास र आधुनिक रूपान्तरणमा पुर्‍याएको योगदानको स्मरण गर्दै विशेष शोक तथा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।

कतारको विकास, दूरदर्शी नेतृत्व र प्रगतिमा उहाँले पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै नेपाली समुदायले सामूहिक श्रद्धाञ्जली अर्पण गरेको हो।

ad

कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रेमप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कतारमा क्रियाशील विभिन्न नेपाली वैचारिक, जातीय, क्षेत्रीय तथा कल्याणकारी संघसंस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीले जानकारी दिए ।

कार्यक्रमको सुरुमा मौलाना गुलाम नवी राजबीले पवित्र कुरआनको पाठ गर्दै दिवंगत पूर्व अमिरको आत्माको चिरशान्तिको कामना गरेका थिए । सो क्रममा कतारको दीर्घकालीन शान्ति, स्थिरता, समृद्धि र प्रगतिका लागिसमेत विशेष 'दुआ' (प्रार्थना) गरिएको थियो।

शोक सभामा स्वागत मन्तव्य राख्दै एनआरएनए कतारका अध्यक्ष पन्थीले कतारका पूर्व अमिरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै वर्तमान अमिर शेख तमिम बिन हमाद अल थानी, कतारी राजपरिवार, सरकार र कतारी जनताप्रति समवेदना व्यक्त गरे ।

"स्वर्गीय पूर्व अमिरको असाधारण नेतृत्व, दूरदृष्टि र कूटनीतिक कौशलकै कारण कतार आज विश्वकै एक प्रतिष्ठित, आधुनिक र समृद्ध राष्ट्रका रूपमा स्थापित हुन सकेको हो। उहाँले छोडेर जानुभएको विरासत सधैं अनुकरणीय रहनेछ।" पन्थीको भनाइ थियो ।

कार्यक्रममा संक्षिप्त कार्यपत्र प्रस्तुत गर्दै प्राध्यापक मोहम्मद रमजान अली मियाले नेपाल र कतारबीचको ऐतिहासिक र प्रगाढ सम्बन्धमाथि प्रकाश पारेका थिए । उनले स्वर्गीय अमिरको पालामा कतारले अंगीकार गरेको आर्थिक विविधीकरण, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र अन्तर्राष्ट्रिय कूटनीतिको जगले नै आधुनिक कतारको निर्माण सम्भव भएको बताए। साथै, लाखौं नेपाली श्रमिकहरूलाई रोजगारीको अवसर दिएर कतारले पुर्‍याएको गुनको नेपाली समुदायले सधैं कदर गर्ने उनले उल्लेख गरे।

नेपाली दूतावासका तर्फबाट कूटनीतिज्ञ प्रेमप्रसाद पोखरेलले नेपाल सरकार र नेपाली दूतावासका तर्फबाट शोक सन्तप्त कतार सरकार र जनताप्रति समवेदना व्यक्त गरे । नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्ध आगामी दिनमा थप मजबुत र कसिलो बन्दै जाने विश्वास व्यक्त गरे ।

सभामा उपस्थित अन्य नेपाली संघसंस्थाका प्रतिनिधिहरूले पनि कतार सरकारले नेपाली समुदायलाई देखाएको सद्भाव र आतिथ्य सत्कारप्रति आभार प्रकट गर्दै शोकको यस घडीमा कतारी जनतासँग ऐक्यबद्धता जनाएका थिए।

कार्यक्रमको समापनमा दिवंगत अमिरको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो।

कतारमा कार्यरत नेपालीहरूको सङ्ख्या करीब ३ लाख ५० हजारदेखि ४ लाखको आसपास रहेको अनुमान छ ।

विगतमा विशेषगरी सन् २०२२ को फिफा विश्वकपको पूर्वाधार निर्माणका क्रममा कतारमा नेपाली श्रमिकहरूको सङ्ख्या निकै ठूलो थियो, तर विश्वकप सम्पन्न भएसँगै निर्माण क्षेत्र (कन्स्ट्रक्सन) का ठूला आयोजनाहरू सकिएकाले यो सङ्ख्यामा केही फेरबदल र गिरावट आएको छ।

खाडी मुलुकहरूमध्ये साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) पछि कतार नेपालीहरूका लागि अझै पनि एक प्रमुख रोजगार गन्तव्यका रूपमा रहँदै आएको छ।

पछिल्लो समय कतारमा रहेका नेपाली श्रमिकहरू परम्परागत निर्माण कार्यभन्दा सेवा क्षेत्र (हस्पिटालिटी, रिटेल, सुरक्षार्गाड), आपूर्ति शृङ्खला (लजिस्टिक) र विभिन्न अर्ध-दक्ष तथा प्राविधिक पेशाहरूमा बढी संलग्न देखिन्छन्।