
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विशेष अदालतमा अभियोग दर्ता गरिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको अनुसन्धानका आधारमा विशेष सरकारी वकिल कार्यालयले पौडेलविरुद्ध २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो।
अभियोगपत्रअनुसार पौडेलले व्यवसायी दीपक भट्टसँगको मिलेमतोमा आफ्नो सार्वजनिक पद र प्रभाव प्रयोग गर्दै आर्थिक लाभ लिने उद्देश्य राखेको आरोप छ। श्रीराम टोबाको उद्योग प्रालिको उच्च मूल्यको सेयर वास्तविक मूल्यभन्दा कममा दीपक भट्टको कम्पनी हिमालयन एसेट म्यानेजमेन्ट प्रालिलाई हस्तान्तरण गराउन भूमिका खेलेको दाबी अभियोजन पक्षले गरेको छ।
विभागले लामो समयसम्म गरेको अनुसन्धानपछि तयार पारिएको प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले विशेष अदालतमा अभियोगपत्र दर्ता गरेको जनाएको छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। उनीमाथिको अनुसन्धान जारी रहेकै क्रममा सोमबार अदालतले पाँचौँ पटक म्याद थप गर्ने आदेश दिएको थियो।










Facebook Comments