सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ। बिहीबार प्रदेशसभाका १६ जना सदस्यले नेपालको संविधानको धारा १८८(४) तथा कर्णाली प्रदेशसभा नियमावली, २०८१ अनुसार प्रदेशसभा सचिवालयमा लिखित प्रस्ताव दर्ता गराएका हुन्।

दर्ता गरिएको प्रस्तावमा मुख्यमन्त्री कँडेलले प्रदेशसभाको विश्वास कायम राख्न नसकेको दाबी गर्दै उनलाई पदबाट हटाउन माग गरिएको छ। साथै संविधानको धारा १८८(५) बमोजिम नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई नयाँ मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरिएको छ।

ad

प्रस्ताव दर्ता गराउने प्रदेशसभा सदस्यहरूले सचिवालयसँग नियमावलीअनुसार आवश्यक संवैधानिक तथा संसदीय प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्। उनीहरूले आगामी प्रदेशसभा बैठकको कार्यसूचीमा अविश्वास प्रस्ताव समावेश गरी छलफलको व्यवस्था मिलाउन पनि अनुरोध गरेका छन्।

अविश्वास प्रस्तावमा नेकपाका संसदीय दलका नेता मंगलबहादुर शाहीसहित राजकुमार शर्मा, कृष्णबहादुर जिसी, उर्मिला विश्वकर्मा, कल्याणी खड्का, जुम्कीत लामा (कार्की), वीरबहादुर शाही, भीमप्रकाश शर्मा, महेन्द्र केसी, मिलन खड्का रोका, रणसिंह परियार, हिक्मतबहादुर विष्ट, वेदराज सिंह, सुरेश अधिकारी, विजया बुढा र कृष्णकुमार विश्वकर्माले हस्ताक्षर गरेका छन्।