
काठमाडौं । प्रधानमन्त्री र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरूबीच सिंहदरबारमा समसामयिक राजनीतिक अवस्था तथा जनसरोकारका विभिन्न विषयमा करिब एक घण्टा छलफल भएको छ।
भेटवार्ताका क्रममा संविधान संशोधन, रासायनिक मलको आपूर्ति, सुकुम्बासी व्यवस्थापन, स्वास्थ्य बिमा सेवा र संसद्प्रति प्रधानमन्त्रीको जवाफदेहितालगायतका विषयमा विचार आदान–प्रदान भएको बताइएको छ।
राप्रपाले संविधान संशोधनको प्रक्रियामा राजसंस्थाको पुनर्स्थापना, नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्ने तथा संघीय व्यवस्था खारेज गर्ने विषयलाई समेत समावेश गर्नुपर्ने धारणा राखेको थियो।
जवाफमा प्रधानमन्त्रीले संविधान संशोधनसम्बन्धी बहसका लागि प्रारम्भिक अवधारणापत्र तयार गर्ने काम भइरहेको र कार्यदलको प्रतिवेदन प्राप्त भएपछि मात्र औपचारिक प्रक्रिया अगाडि बढाइने बताएका छन्।
सुकुम्बासी व्यवस्थापनबारे प्रधानमन्त्रीले वास्तविक भूमिहीनको व्यवस्थापन सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै काठमाडौं उपत्यकामै जग्गा उपलब्ध गराउने अवस्था नरहेकाले वैकल्पिक समाधान खोज्ने काम भइरहेको जानकारी दिएका छन्।
स्वास्थ्य बिमा कार्यक्रमलाई निजी अस्पतालमा पुनः लागू गर्नुपर्ने राप्रपाको मागबारे उनले आवश्यक सुधारपछि निर्णय गरिने बताएका छन्। कृषि क्षेत्रमा रासायनिक मलको अभाव हुन नदिने गरी सरकारले आवश्यक तयारी गरिरहेको दाबी पनि प्रधानमन्त्रीले गरेका छन्।
संसद्मा आफ्नो नियमित उपस्थितिका विषयमा उठेको चासोलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आगामी दिनमा नियमित रूपमा संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिने र संवादलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, भ्रष्टाचारसम्बन्धी सूचना वा उजुरी सिधै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपलब्ध गराउन पनि उनले आग्रह गरेका छन्।










Facebook Comments