
काठमाडौं । सशस्त्र प्रहरी बलका असई थमन विक हत्या प्रकरणमा कारागारमा रहेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई सर्वोच्च अदालतले तत्काल थुनामुक्त गर्न आदेश दिएको छ।
बिहीबार न्यायाधीश श्रीकान्त पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले कोइरीको पक्राउ कानुनी प्रक्रियाअनुसार नभएको निष्कर्ष निकाल्दै उनलाई रिहा गर्न आदेश जारी गरेको हो।
यसअघि महोत्तरी जिल्ला अदालतले गत मंसिरमा उक्त मुद्दामा कोइरीलाई सफाइ दिएको थियो। तर, उच्च अदालत जनकपुरले असार १९ गतेको फैसलामार्फत उनलाई दोषी ठहर गरेपछि प्रहरीले पक्राउ गरी कारागार चलान गरेको थियो।
कोइरीका छोरा मनोजकुमार महतोले पक्राउ प्रक्रिया कानुनविपरीत भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। सोही रिटमाथिको सुनुवाइपछि सर्वोच्चले पक्राउ पुर्जी वैधानिक नरहेको ठहर गर्दै थुनामुक्त गर्न आदेश दिएको हो।
लक्ष्मी महतो कोइरी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)को तर्फबाट महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए।










Facebook Comments