
जनकपुरधाम । मधेश प्रदेशमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्मिलित वर्तमान सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय भएको छ।
बिहीबार मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, एमाले संसदीय दलका नेता सरोजकुमार यादव र नेकपाका संसदीय दलका नेता एवं अर्थमन्त्री युवराज भट्टराईबीच भएको छलफलपछि तीन दलले प्रदेश सरकारको वर्तमान समीकरणलाई कायम राख्ने सहमति गरेका हुन्।
छलफलपश्चात् सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै अर्थमन्त्री भट्टराईले मधेश प्रदेशको राजनीतिक अवस्था अन्य प्रदेशको भन्दा फरक रहेको उल्लेख गर्दै यहाँको गठबन्धनलाई निरन्तरता दिन तीन दल सहमत भएको जानकारी दिए।
उनले देशका केही अन्य प्रदेशमा सत्ता समीकरण परिवर्तनको चर्चा भए पनि मधेश प्रदेशमा भने त्यस्तो अवस्था नरहेको र विद्यमान गठबन्धनकै आधारमा सरकार सञ्चालन हुने बताए।
तीन दलले प्रदेश सरकारको स्थायित्वलाई प्राथमिकतामा राख्दै साझा नीति र कार्यक्रममार्फत आगामी दिनमा समेत सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।










Facebook Comments