
काठमाडौं — सरकार गठन भएको करिब साढे तीन महिनामै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सरकारको कार्यशैलीलाई लिएर असन्तुष्टिका स्वर सुनिन थालेका छन्। पार्टीकै सांसदहरूले संसद्, संसदीय समिति र सार्वजनिक अभिव्यक्तिमार्फत सरकारका विभिन्न कामकारबाहीप्रति प्रश्न उठाउन थालेपछि सरकारमाथि आन्तरिक दबाब बढेको देखिएको छ।
रास्वपाका सांसदहरूले किसानले समयमा मल नपाएको, सुकुमवासीका समस्या, प्रेस स्वतन्त्रता, सीमा क्षेत्रमा कर व्यवस्थापन, सडक सुरक्षा, ट्राफिक जरिवाना, सुशासन तथा सार्वजनिक सेवा प्रवाहजस्ता विषयमा सरकारको ध्यानाकर्षण गराउँदै सुधारको आवश्यकता औंल्याएका छन्। उनीहरूले विगतका सरकारलाई दोष दिएर वर्तमानका कमजोरी ढाक्न नहुने र जनताका समस्या तत्काल समाधान गर्न सरकार उत्तरदायी बन्नुपर्ने धारणा राख्दै आएका छन्।
यता पार्टी नेतृत्वले भने सरकारका काम प्रभावकारी रूपमा जनतासम्म पुग्न नसकेको निष्कर्ष निकाल्दै उपलब्धिहरू सार्वजनिक गर्ने अभियान सुरु गर्ने तयारी गरेको छ।
रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारले गरेका जनपक्षीय र सुशासनसम्बन्धी काम पर्याप्त रूपमा जनतासम्म नपुगेको भन्दै सांसदहरूलाई आफ्ना निर्वाचन क्षेत्रमा पठाएर सरकारका उपलब्धिबारे जानकारी गराउने तयारी भइरहेको बताए।
बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचन क्षेत्रमा जानुअघि पार्टी सभापति, प्रधानमन्त्री तथा संसदीय दलका नेतासहितको बैठक बसेर अभियानबारे थप रणनीति तय गरिने जानकारी दिए।
पराजुलीले सरकारले कुनै काम नगरेको भन्ने गलत धारणा सिर्जना गर्ने प्रयास भइरहेको दाबी गर्दै त्यसलाई तथ्यका आधारमा चिर्ने बताए। उनका अनुसार सुशासन, सेवा प्रवाह र जनमुखी नीतिमा सरकारले उल्लेखनीय प्रगति गरेको छ, जसबारे नागरिकलाई जानकारी गराउनु आवश्यक छ।
उनले आगामी दिनमा संसद्लाई थप प्रभावकारी बनाउने, सांसदहरूको भूमिका सशक्त बनाउने तथा सबै राजनीतिक दलसँग संवाद र सहकार्य गर्दै जनहितका कानुन निर्माणमा सरकार र पार्टी प्रतिबद्ध रहेको पनि बताए।










Facebook Comments