जनकपुर । मधेस प्रदेशसभाले आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले प्रस्तुत गरेको बजेट सर्वसम्मत रूपमा पारित गरेको छ। बुधबार बसेको प्रदेशसभा बैठकले आर्थिक विनियोजन विधेयक, २०८३ स्वीकृत गर्दै आगामी वर्षको बजेटलाई अन्तिम रूप दिएको हो।
बजेटमाथिको छलफलका क्रममा प्रदेशसभा सदस्यहरूले विभिन्न सुझाव र टिप्पणी राखेका थिए। विपक्षी दलका सांसदहरूले बजेटमा देखिएका कमजोरी र त्रुटि सच्याउँदै प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए भने सत्तापक्षका सांसदहरूले बजेटलाई जनमुखी, विकासमुखी र जनहितमा केन्द्रित रहेको भन्दै समर्थन जनाएका थिए।
छलफलमा सहभागी हुँदै मुख्यमन्त्री कृष्णप्रसाद यादवले समुन्नत र समृद्ध मधेस निर्माणका लागि सबै राजनीतिक दलसँग सहकार्य गर्न सरकार तयार रहेको बताए। विगतका अनुभवबाट सिक्दै यसपटकको बजेटलाई बढी व्यवस्थित, व्यावहारिक र जनताको आवश्यकतामुखी बनाइएको उनको दाबी थियो।
बजेटमाथि उठेका जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री युवराज भट्टराईले आगामी आर्थिक वर्षको बजेटले प्रदेशका नागरिकले प्रत्यक्ष रूपमा विकासको अनुभूति गर्ने विश्वास व्यक्त गरे। कृषि, उद्यमशीलता, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएकाले यसले जनजीविकामा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
अर्थमन्त्री भट्टराईले असार १ गते प्रदेशसभामा आगामी आर्थिक वर्षका लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। उक्त बजेटमा कृषि नवप्रवर्तन, उद्यम प्रवर्द्धन, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राखिएको छ।










Facebook Comments