
काठमाडौं । नेपाली कांग्रेसकी प्रतिनिधिसभा सदस्य सीता (उर्मिला) थपलियाले सामाजिक सञ्जालमा भएको ट्रोल र तीव्र आलोचनाका कारण आफू गम्भीर मानसिक तनावमा परेको तथा दुई पटक आत्महत्याको प्रयाससम्म गरेको खुलासा गरेकी छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद थपलियाले केही समयअघि संसद्मा लगातार आत्मदाह गरेका तीन युवाको घटनाबारे सरकारको ध्यानाकर्षण गराउने क्रममा आफू र कांग्रेस प्रमुख सचेतक बासना थापाको प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा व्यापक आलोचना भएको बताइन्।
उनले जनसरोकारको संवेदनशील विषयमा सरकारको ध्यान खिच्न फरक शैली अपनाएको भए पनि त्यसलाई गलत ढंगले व्याख्या गरिएको गुनासो गरिन्। त्यसपछि सामाजिक सञ्जालमा भएका ट्रोल, अपमानजनक टिप्पणी र निरन्तरको आलोचनाले आफ्नो मानसिक स्वास्थ्यमा गम्भीर असर परेको उनको भनाइ थियो। ‘सामाजिक सञ्जालमा भएको ट्रोलले मलाई यति धेरै मानसिक दबाब दियो कि दुईपटक आत्महत्याको प्रयाससमेत गरेँ,’ उनले संसद्मा भनिन्।
सांसद थपलियाले सामाजिक सञ्जाल अभिव्यक्ति स्वतन्त्रताको प्रभावकारी माध्यम भए पनि यसको दुरुपयोगले व्यक्तिको मानसिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले यसबारे समाजले गम्भीर रूपमा सोच्नुपर्ने आवश्यकता औंल्याइन्।
उनले विशेषगरी सार्वजनिक जीवनमा रहेका महिलामाथि हुने आलोचना र सामाजिक दबाबप्रति पनि प्रश्न उठाइन्। ‘सत्ययुगकी सीतादेखि कलियुगकी सीतासम्म महिलाले कतिपटक अग्निपरीक्षा दिनुपर्ने हो ? म त्यसका लागि तयार छु,’ भन्दै उनले महिलाप्रति समाजको दृष्टिकोण परिवर्तन हुनुपर्ने धारणा व्यक्त गरिन्।










Facebook Comments