
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवादका क्रममा भएको कुटपिट तथा अभद्र व्यवहारसम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंले ६ जना महिला कार्यकर्तालाई दोषी ठहर गर्दै जरिवाना र उपचार खर्च भराउने फैसला गरेको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको इजलासले पार्टीकी कार्यकर्ता नानीमैयाँ आचार्यमाथि अभद्र व्यवहार र कुटपिट गरेको अभियोगमा अनिता विमली, कुमारी स्याङ्तान, प्रविता भण्डारी (अन्जु सुवेदी), नारायणी राई, रिता लाखाजु र विमली श्रेष्ठलाई दोषी ठहर गरेको हो।
फैसलाअनुसार मुलुकी अपराध संहिता, २०७४ को दफा ११८(१) बमोजिम प्रत्येक प्रतिवादीलाई जनही एक हजार रुपैयाँ जरिवाना गरिएको छ। साथै, घटनामा घाइते भएकी आचार्यको उपचारमा लागेको दुई लाख ९४ हजार रुपैयाँ खर्चसमेत ती ६ जनाबाट असुल गर्ने आदेश इजलासले दिएको छ।
अदालतले उपचार खर्च र जरिवाना रकम प्रतिवादीहरूले मुद्दाको पुर्पक्षका क्रममा धरौटीस्वरूप जम्मा गरेको जनही ५० हजार रुपैयाँबाट कट्टा गर्ने व्यवस्था मिलाएको छ।
राप्रपाभित्रको गुटगत विवादका क्रममा सार्वजनिक रूपमा भएको उक्त घटनासम्बन्धी जाहेरी, घटनास्थल मुचुल्का तथा साक्षीहरूको बयानलाई आधार मानेर जिल्ला प्रशासन कार्यालयले निर्णय सुनाएको हो।









Facebook Comments