काठमाडौं । सत्तारुढ दल रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको रक्षा गर्न सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै परियारले सञ्चारगृहमाथि हुने कुनै पनि प्रकारको अवरोध र त्रासको प्रयास प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको बताए । उनले राजधानीका केही सञ्चारमाध्यमहरुको मुख्य प्रवेशद्वारमा गाडी पार्किङ गरी आवतजावत ठप्प पार्ने प्रयासको कडा शब्दमा भर्त्सना गरे । हिजो राजधानीमा अग्रणी सञ्चार माध्यमका मुख्य प्रवेशद्वारमै गाडीहरू पार्किङ गरेर भौतिक रूपमा आवतजावत ठप्प पारेर सञ्चार गृहलाई तर्साउने जुन कुत्सित प्रयास गरियो, यसको कडा शब्दमा भर्त्सना गर्दछु, उनले भने । 

ad

उनले सत्यसँग डराउनेहरूले मात्र यस्ता हर्कत गर्ने भन्दै सत्यलाई ढाकछोप गर्न खोज्नु ‘हत्केलाले सूर्य छेक्न खोज्नु’ जस्तै भएको बताए। हिजो तत्कालीन राजा ज्ञानेन्द्र शाहको सैनिक शासनमा बन्दुक बोकेका सेनाहरू समाचार कक्ष भित्रै पसेर समाचार सेन्सर गर्दथे। त्यतिबेला नझुकेको नेपाली सञ्चारमाध्यम, आज सडकमा दुई–चारवटा गाडी तेर्स्याएर तर्सिन्छ र ? उनले भने ।