
काठमाडौं — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाएर अधिनायकवादी शैलीमा शासन सञ्चालन गर्न खोजेको आरोप लगाएका छन्।
४४औँ बीपी स्मृति दिवसको तयारीका अवसरमा नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको बैठकलाई सम्बोधन गर्दै थापाले लोकतान्त्रिक व्यवस्थामा नागरिकले सत्तालाई प्रश्न गर्ने अधिकार सुरक्षित हुनुपर्ने बताए।
बीपी कोइरालाको राजनीतिक योगदान स्मरण गर्दै उनले नागरिकको आवाज दबाउने प्रयास लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने उल्लेख गरे। राजनीतिक दलका नेताको निवास, सञ्चारगृह र व्यवसायिक प्रतिष्ठानअगाडि सवारीसाधन राखेर त्रास सिर्जना गर्ने कार्य स्वीकार्य हुन नसक्ने उनको भनाइ थियो।
थापाले स्थानीयवासीबाट त्यस्ता सवारी राख्न आएका व्यक्तिहरू सरकारी सवारीमा फर्किएको जानकारी प्राप्त भएको दाबी गरे। पछिल्लो समय सुकुम्बासी समस्या र गणेश नेपालीको आत्मदाहजस्ता विषयमा प्रश्न उठेपछि राज्यको व्यवहार थप असहिष्णु बनेको उनको आरोप थियो।
सुकुम्बासी समस्याबारे बोल्दै उनले नेपाली कांग्रेसले उक्त विषयलाई राजनीतिक लाभका लागि प्रयोग नगर्ने स्पष्ट पारे। बरु कानुनसम्मत समाधान खोज्नुको सट्टा सरकारले नै समस्या जटिल बनाएको उनको टिप्पणी थियो।
राज्यले नागरिकको सुरक्षा र जीवनको संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा त्यसतर्फ पर्याप्त संवेदनशीलता नदेखाएको पनि थापाले बताए।
कार्यक्रममा उनले कांग्रेसको जारी ‘जरा अभियान’ साउन ६ गते सम्पन्न हुने जानकारी दिँदै त्यसको भोलिपल्टदेखि भदौ २४ गतेसम्म सञ्चालन हुने नयाँ अभियान सार्वजनिक गरिने पनि बताए।










Facebook Comments