काठमाडौं । सोमबार बिहान कान्तिपुर पब्लिकेसन्सको मुख्य प्रवेशद्वारअगाडि बेवारिसे अवस्थामा छाडिएको बागमती प्रदेश ०१–०३४ च ८४८० नम्बरको गाडी रौतहटका रवि जयसवालको नाममा दर्ता रहेको खुलेको छ।

यातायात व्यवस्था कार्यालय, एकान्तकुनाको अभिलेखअनुसार उक्त सवारीसाधन जयसवालको नाममा दर्ता रहेको स्रोतले जनाएको छ। उनी रौतहटको गरुडा नगरपालिकाका प्रमुख कन्थमणिप्रसाद कलवारका छोरा हुन्।

ad

नगरप्रमुख कलवारले गाडी आफ्ना छोराकै भएको पुष्टि गर्दै केही महिनाअघि उनले आफ्नै व्यवसायबाट कमाएको रकमले सवारी खरिद गरेको बताए। घटनाबारे आफूले छोरासँग विस्तृत रूपमा कुरा गर्न नपाएको उल्लेख गर्दै उनले यसमा कुनै खराब नियत रहेको वा नरहेकोबारे टिप्पणी गर्न नसक्ने बताए।

रवि जयसवाल यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका थिए। उनी पार्टीको केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागको सदस्यसमेत नियुक्त भएका थिए। २०७९ को प्रदेशसभा निर्वाचनमा उनले रौतहट क्षेत्र नम्बर ४ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका थिए।

व्यवसायका रूपमा उनले विदेशबाट कोइला आयात गरी नेपालका विभिन्न उद्योगमा आपूर्ति गर्ने काम गर्दै आएको बताइन्छ। उनी प्रायः काठमाडौंमा बसोबास गर्दै आएका छन्।

प्रहरीले कान्तिपुर पब्लिकेसन्सअगाडि सवारीसाधन छाडिएको घटनाबारे अनुसन्धान अघि बढाएको छ। घटनाको उद्देश्य र संलग्नताको विषयमा भने हालसम्म आधिकारिक निष्कर्ष सार्वजनिक गरिएको छैन।