
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न सञ्चारगृहको कार्यालयबाहिर शंकास्पद रूपमा सवारीसाधन राखिएको घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यले सोमबार जारी गरेको विज्ञप्तिमा सञ्चारमाध्यम र पत्रकारमाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्ने उद्देश्यले यस्ता गतिविधि भएको देखिएको उल्लेख गर्दै यसलाई लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रताविपरीतको कार्य भनेका छन्।
रास्वपाले स्वतन्त्र, निष्पक्ष र भयरहित पत्रकारितालाई लोकतन्त्रको आधार मानेको उल्लेख गर्दै कुनै पनि बहानामा सञ्चारमाध्यममाथि त्रास सिर्जना गर्ने वा प्रेस स्वतन्त्रतामा हस्तक्षेप गर्ने प्रयास स्वीकार्य नहुने स्पष्ट पारेको छ।
विज्ञप्तिमार्फत पार्टीले घटनाको तत्काल निष्पक्ष छानबिन गरी जिम्मेवार व्यक्तिको पहिचान गर्न तथा कानुनअनुसार कारबाही अघि बढाउन सरकार, गृह मन्त्रालय र सुरक्षा निकायलाई आग्रह गरेको छ। साथै पत्रकारहरूलाई कुनै दबाब वा त्रासमा नपरी सत्यतथ्यमा आधारित समाचार सम्प्रेषणलाई निरन्तरता दिन अनुरोध गर्दै प्रेस स्वतन्त्रताको पक्षमा आफ्नो समर्थन कायम रहने जनाएको छ।
सोमबार काठमाडौंका तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन, नयाँ बानेश्वरस्थित अनलाइनखबर, मध्यबानेश्वरस्थित हिमालय टेलिभिजन, अनामनगर क्षेत्र तथा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको निवास नजिक शंकास्पद अवस्थामा सवारीसाधन पार्क गरिएका थिए। पछि प्रहरीले ती सवारी हटाएको थियो।











Facebook Comments