काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र निवर्तमान सभापति शेरबहादुर देउवा समूहका नेता डा. प्रकाशशरण महतबीच शनिबार विराटनगरमा भेटवार्ता भएको छ।

विराटनगरस्थित कोइराला निवासमा भएको भेटमा पछिल्लो समय कांग्रेसभित्र विकसित राजनीतिक घटनाक्रम, पार्टी एकताको प्रयास र आगामी गतिविधिबारे छलफल भएको स्रोतले जनाएको छ।

ad

विशेष महाधिवेशनपछि कांग्रेसभित्र संस्थापन र संस्थापन इतर समूहबीच विवाद जारी रहेका बेला दुई नेताबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। पछिल्ला दिनहरूमा दुवै पक्षबीच संवाद र सहमतिका प्रयास भइरहेका बेला महत स्वयं विराटनगर पुगेर कोइरालासँग भेट गरेका हुन्।

शुक्रबार देउवा समूहका पूर्वपदाधिकारीहरूको बैठकले साउन ६ गते बीपी स्मृति दिवसका अवसरमा छुट्टै कार्यक्रम आयोजना गर्ने निर्णय गरेको थियो। सो कार्यक्रममा डा. शेखर कोइरालालाई पनि सहभागी गराउने तयारीबारे जानकारी दिन महत विराटनगर पुगेको स्रोतको भनाइ छ।

भेटपछि डा. महतले आफूले विराटनगर पुगेर डा. कोइरालासँग भेटवार्ता गरेको पुष्टि गरेका छन्। यद्यपि भेटमा भएका विस्तृत छलफलबारे भने दुवै नेताले सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन्।