
काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सुकुम्बासी व्यवस्थापनको विषयलाई लिएर सरकारको कडा आलोचना गर्दै नागरिकप्रतिको व्यवहार तानाशाही शैलीको झल्को दिने खालको भएको टिप्पणी गरेकी छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बागमती क्षेत्रबाट हटाइएका सुकुम्बासीलाई होल्डिङ सेन्टरमा राखिएको, कतिपय स्थानमा पानी र खानाको समेत अभाव भएको उल्लेख गर्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाइन्। यस्तो अवस्था देख्दा जर्मनीको तानाशाही शासनकाल सम्झाउने खालको संरचना निर्माण गर्न खोजिएको हो कि भन्ने आशंका उब्जिएको उनको भनाइ थियो।
कांग्रेसकी कान्छी सांसद गुरुङले सुकुम्बासीको पीडा समग्र समाजका लागि चिन्ताको विषय बनेको बताउँदै सरकार गरिब र विपन्न नागरिकप्रति संवेदनशील बन्न नसकेको आरोप लगाइन्। राज्यको दायित्व नागरिकलाई संरक्षण गर्नु हो, सडकमा बेवारिसे बनाउनु होइन भन्ने धारणा उनले राखिन्।
सरकारले विस्थापित प्रत्येक परिवारलाई २५ हजार रुपैयाँ एकमुष्ट राहत र मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरे पनि प्रभावित ३८८ परिवारमध्ये धेरैले अहिलेसम्म रकम प्राप्त गर्न नसकेको उनले दाबी गरिन्।
सांसद गुरुङले मुगुका गणेश नेपालीले आत्मदाह गर्न खोज्नुपरेको घटनाको उल्लेख गर्दै यसअघि इलामका प्रेम आचार्यले संसद् भवनअगाडि आत्मदाह गरेपछि तत्कालीन काठमाडौं महानगर प्रमुख रहेका वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहले व्यक्त गरेका धारणा पनि स्मरण गराइन्। शासन परिवर्तन भए पनि नागरिकको जीवनमा अपेक्षित परिवर्तन आउन नसकेको भन्दै उनले सरकारलाई आफ्नो जिम्मेवारीप्रति गम्भीर बन्न आग्रह गरिन्।










Facebook Comments