काठमाडौं । राष्ट्रिय सभाले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०८३’ सर्वसम्मतिले पारित गरेको छ।

विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट प्राप्त भएको उक्त विधेयकमाथि दफावार छलफलपछि मंगलबार बसेको राष्ट्रिय सभा बैठकले विधेयक पारित गरेको हो।

ad

विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय आवश्यकता र समयसीमालाई ध्यानमा राख्दै सहमति र विवेकपूर्ण ढंगले कानुन निर्माण प्रक्रिया अघि बढाइएको बताए।

उनले राष्ट्रिय सभालाई ‘विद्वत सभा’ को संज्ञा दिँदै सांसदहरूले दिएका सुझाव र पृष्ठपोषणले विधेयकलाई थप परिष्कृत बनाउन सहयोग पुगेको उल्लेख गरे।

“समयको दबाब र राष्ट्रिय आवश्यकतालाई सँगसँगै सम्बोधन गर्नुपर्ने चुनौतीका बीच पनि सकारात्मक निकास निकाल्न सफल भएका छौँ,” मन्त्री वाग्लेले भने, “यसले मुलुकको आर्थिक तथा संस्थागत सुधारमा सहयोग पुर्‍याउनेछ।”

बैठकमा सभाका अध्यक्षले निर्णयार्थ प्रस्तुत गरेको विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरेका थिए।

विधेयक पारित भएसँगै सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि कानुनी संरचना थप मजबुत हुने र मुलुकको व्यावसायिक वातावरण सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। सरकारले अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा वित्तीय पारदर्शिता कायम गर्ने उद्देश्यले यसलाई महत्वपूर्ण कानुनी सुधारका रूपमा लिएको छ।