
काठमाडौं । घुस काण्डमा अदालतबाट दोषी ठहर भएका पूर्वसभासद डोलबहादुर (डिबी) कार्की नेकपा (एमाले) मा प्रवेश गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्कीसहित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ६ जना नेतालाई पार्टीमा स्वागत गरेका हुन्। एमाले प्रवेशअघि कार्की नेकपाका पोलिटब्यूरो सदस्य थिए।
कार्की पहिलो संविधानसभाका सभासद् रहेका बेला नेपाल प्रहरीमा इन्सपेक्टरको जागिर लगाइदिने आश्वासन दिएर घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा उनीबाट एक लाख रुपैयाँ घुस रकम बरामद भएको थियो भने अख्तियारले उनीविरुद्ध कुल चार लाख रुपैयाँ घुस लिएको आरोपसहित मुद्दा दायर गरेको थियो।
विशेष अदालतले कार्कीलाई घुस मुद्दामा दोषी ठहर गर्दै चार महिना कैद, एक लाख रुपैयाँ जरिवाना तथा तत्कालीन संविधानसभा सदस्य भएकाले थप दुई महिना कैद सजाय सुनाएको थियो। उनीसँगै पक्राउ परेका हर्कनाथ गौतम (स्वामी ब्रह्मानन्द उदासीन) लाई पनि चार महिना कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला भएको थियो।
पछि सर्वोच्च अदालतले असार २०७६ मा विशेष अदालतको फैसला सदर गरेको थियो। सर्वोच्चले सुरुमा लिएको भनिएको तीन लाख रुपैयाँको पर्याप्त प्रमाण नपुगेको ठहर गर्दै बरामद भएको एक लाख रुपैयाँलाई मात्रै घुसको बिगो मानेर फैसला कायम राखेको थियो।
अदालतको अन्तिम फैसलासँगै कार्की घुस मुद्दामा दोषी ठहर भएका व्यक्ति बनेका थिए। कानुनी व्यवस्थाअनुसार उनी जनप्रतिनिधिमूलक निर्वाचनमा उम्मेदवार बन्न अयोग्य भए पनि राजनीतिक गतिविधिमा भने सक्रिय रहँदै आएका छन्। अहिले उनी एमालेमा औपचारिक रूपमा प्रवेश गरेका छन्।










Facebook Comments