काठमाडौं । संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा बाहिरिएको केही दिनपछि नेकपा (एमाले) पनि बाहिरिएको छ।

एमालेका महासचिव शंकर पोखरेलले कार्यदलका संयोजक अशिम शाहलाई पत्र लेख्दै बाहिरिएको जानकारी दिएका हुन्।
एमालेबाट उक्त कार्यदलमा भीष्म अधिकारी सहभागी थिए। 

ad

‘वर्तमान संविधानका आधारभूत विषयहरूलाई अझ सुदृढ बनाउने र विगतमा देखिएका नकारात्मक अभ्यास र कमि कमजोरीलाई सुधार गर्ने उद्देश्यले संविधान संशोधन गर्ने कुरामा एमाले सदैव दृढ रहेकोमा त्यस विपरीत विषयहरू नै खल्बल्याउने उद्देश्य राखेर कार्यदल सहभागी रहेको हाम्रो पार्टी तत् तत् समयदेखि अनुपस्थित रहँदै आएको छ,’ पत्रमा भनिएको छ, ‘आजका दिनसम्म पनि हाम्रो पार्टीको प्रस्ताव अनुसार सरकारका तर्फबाट कुनै स्पष्ट जवाफ नआएको सन्दर्भमा औपचारिक रूपमा पार्टी प्रतिनिधिलाई फिर्ता बोलाइएको जानकारी गराउँदछु।’

कार्यदलले संविधानका कुन विषय संशोधन गर्ने, संविधानको संरचनाप्रति सरकारको दृष्टिकोण प्रष्ट नभएको बताउँदै त्यसबारे एमालेले जबाफ माग गरेको थियो।

‘कार्यदलको काम कारबाही सुरूदेखि नै संदिग्ध प्रकृतिको रहेको, संविधान संशोधनका विषयमा किटान नगरिएको, वर्तमान संविधानका आधारभुत संरचनाप्रति सरकारको दृष्टिकोण प्रष्ट नभएको, संशोधनका लाग बहसमा ल्याइएका विषयहरू संघीय लोकतान्त्रिक गणतन्त्रको विरूद्धमा देखिएका जस्ता कारणले तत् सम्बन्धमा सरकारको भूमिका स्पष्ट गर्न माग गर्नुभएको सर्वविदितै छ,’ पत्रमा उल्लेख छ।