काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला) ले सरकारको पहिलो १०० दिनको कार्यसम्पादनप्रति तीव्र असन्तुष्टि जनाउँदै सुकुम्बासी र किसानका समस्या समाधान गर्न सरकार असफल भएको आरोप लगाएकी छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै सांसद थपलियाले सरकारले १०० दिनको उपलब्धि मनाइरहँदा सुकुम्बासीले भने पीडा र निराशा मात्र भोग्नुपरेको बताइन्।

ad

‘यो सरकारले सुकुम्बासीको आँखामा आँसु उपहार दिएर १०० दिन मनायो,’ उनले भनिन्। सरकार पुराना राजनीतिक दलको आलोचनामा केन्द्रित भएको उल्लेख गर्दै उनले आफ्नै कार्यसम्पादनको पनि आत्ममूल्यांकन गर्नुपर्ने धारणा राखिन्।

थपलियाले सरकारलाई लक्षित गर्दै, ‘अरूलाई तराजुमा जोख्नुअघि ऐनामा आफ्नो अनुहार पनि हेर्न आवश्यक छ, किनभने त्यहाँ पनि हिलो पर्न थालेको छ,’ भन्दै कटाक्ष गरिन्।

उनले कृषि क्षेत्रको समस्याप्रति पनि सरकारको ध्यानाकर्षण गराउँदै किसानलाई आवश्यक रासायनिक मलसमेत समयमा उपलब्ध गराउन नसकेको आरोप लगाइन्। किसानका आधारभूत आवश्यकताप्रति सरकार संवेदनशील बन्नुपर्ने उनको भनाइ थियो।