काठमाडौं। नेकपा (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण र पुनर्गठनका लागि देशभरबाट संकलन गरिएका सुझावका आधारमा प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरेको छ। उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको सुझाव संकलन कार्यदलको बैठक बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ।

कार्यदलले बागमती प्रदेशबाट जेठ ३० गते सुझाव संकलन सुरु गरेको थियो। त्यसपछि सातै प्रदेश, विशेष कमिटी तथा जनसंगठनबाट प्राप्त राय–सुझावलाई समेटेर प्रतिवेदन तयार पार्ने काम भइरहेको एमालेले जनाएको छ। बैठकमा कार्यदलका सदस्यहरूको धारणा समेत समेटेर प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी छ।

ad

पार्टी स्रोतका अनुसार सुझावहरू मिश्रित भए पनि अधिकांशले पार्टी पुनर्ताजगी र संगठनात्मक सुधारको पक्षमा मत दिएका छन्। केहीले नेतृत्व परिवर्तनको आवश्यकता औंल्याएका छन् भने केहीले केन्द्रीय कमिटीदेखि अन्य संरचनासम्म पुनर्गठन गर्नुपर्ने धारणा राखेका छन्। यी सबै सुझावलाई कसरी समेट्ने भन्ने विषय प्रतिवेदनको महत्वपूर्ण पक्ष रहने बताइएको छ।

कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले प्रतिवेदनले पार्टीलाई थप एकताबद्ध र सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार पुनर्ताजगी भनेको नेतृत्व परिवर्तनमा मात्र सीमित नभई पार्टीभित्र देखिएका कमजोरी सुधार, संगठन सुदृढीकरण र कार्यशैलीमा परिवर्तनसँग पनि जोडिएको विषय हो।

मधेस प्रदेश अध्यक्ष चण्डेश्वर मण्डलले भने अहिले नेतृत्व परिवर्तनको बहसभन्दा पार्टी एकताबद्ध भएर महाधिवेशनको म्यान्डेटअनुसार अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा आगामी स्थानीय तथा प्रदेश निर्वाचनसम्म अघि बढ्नुपर्ने धारणा राखेका छन्।

बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलले प्रतिवेदनले पार्टीलाई विधि, विधान र पद्धतिअनुसार सञ्चालन गर्न मार्गदर्शन गर्ने बताए। उनले एमालेभित्र विचार र सिद्धान्तको विवाद नभएको दाबी गर्दै विकसित राजनीतिक परिस्थितिअनुसार रणनीति तय गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे।

गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले पछिल्लो निर्वाचन परिणामले आत्मसमीक्षाको आवश्यकता देखाएको भन्दै संगठनलाई थप प्रभावकारी बनाउने दिशामा प्रतिवेदन केन्द्रित हुनुपर्ने बताए। उनले अहिले व्यक्तिकेन्द्रित बहसभन्दा जिम्मेवारी व्यवस्थापन र संगठन सुदृढीकरणलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीले भने सुझाव संकलनको प्रक्रियाप्रति नै असन्तुष्टि जनाएका छन्। उनका अनुसार कमिटीमार्फत औपचारिक रूपमा सुझाव संकलन गरिएको भए बढी प्रभावकारी हुने थियो। उनले प्रतिवेदनले मात्र पार्टीभित्र देखिएका विवादको समाधान निकाल्नेमा शंका व्यक्त गरे पनि अन्तिम निर्णय केन्द्रीय कमिटीबाट हुने बताए।

उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पृथ्वी सुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट, सचिवहरू छविलाल विश्वकर्मा, पद्मा अर्याल, भानुभक्त ढकाल तथा सातै प्रदेश अध्यक्ष सदस्य छन्। कार्यदलको प्रतिवेदनमाथि एमाले केन्द्रीय कमिटीमा विस्तृत छलफल हुने जनाइएको छ।