काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले अत्यावश्यक उपभोग्य वस्तुको बजार मूल्य तत्काल घटाउन निजी क्षेत्रका व्यवसायी तथा छाता संगठनलाई निर्देशन दिएकी छन्।

सोमबार सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित बैठकमा मन्त्री यादवले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटिसकेको अवस्थामा त्यसको प्रभाव नेपाली बजारमा पनि देखिनुपर्ने बताइन्। उनले वास्तविक बजार अवस्थाअनुसार उपभोग्य वस्तुको मूल्य समायोजन गरी उपभोक्तालाई राहत दिन आग्रह गरिन्।

ad

बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, फलफूल तथा तरकारी व्यवसायी महासंघ तथा चामल, दाल र तेल व्यवसायी महासंघका प्रतिनिधिहरू सहभागी थिए। छलफलका क्रममा व्यवसायीहरूले बजारको वर्तमान अवस्था, आपूर्ति व्यवस्थापन तथा व्यावसायिक चुनौतीबारे आफ्ना धारणा राखेका थिए।

व्यवसायीहरूको गुनासो सुनेपछि मन्त्री यादवले बढ्दो बजार मूल्यका कारण सर्वसाधारण उपभोक्ता प्रत्यक्ष प्रभावित भएको उल्लेख गर्दै नुन, तेल, चामल, दाल, हरियो तरकारीलगायत दैनिक उपभोग्य वस्तुको मूल्य यथाशीघ्र घटाउन निर्देशन दिइन्।

उनले सरकारले बजारलाई उपभोक्तामैत्री बनाउने विषयलाई उच्च प्राथमिकतामा राखेको बताउँदै प्रधानमन्त्रीको समेत यसमा विशेष चासो रहेको जानकारी गराइन्। मूल्य समायोजनमा अनावश्यक ढिलाइ नगर्न व्यवसायीलाई आग्रह गर्दै बजार अनुगमनलाई पनि प्रभावकारी बनाइने संकेत गरिन्।

बैठकमा सहभागी निजी क्षेत्रका प्रतिनिधिहरूले उपभोक्तालाई राहत पुग्ने गरी बजार मूल्य समायोजन गर्न सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

कार्यक्रममा मन्त्रालयका सहसचिवहरू, आपूर्ति व्यवस्थापनसँग सम्बन्धित निकायका प्रमुखहरू तथा मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीको पनि उपस्थिति रहेको थियो। प्रवक्ता सुवेदीले उपभोक्ता संरक्षण ऐनका प्रमुख प्रावधानबारे संक्षिप्त जानकारी गराएका थिए।