
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमा सार्वजनिक भएको यौन दुर्व्यवहारसम्बन्धी भिडियोप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनामा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याइने बताएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले पीडित ऋतु खनालले देखाएको साहसको प्रशंसा गरेका छन्। उनले कुनै पनि महिला तथा छोरीचेलीमाथि हुने यौन दुर्व्यवहार र उत्पीडन सभ्य समाजका लागि अस्वीकार्य भएको उल्लेख गरेका छन्।
उनले पीडितले आफ्नो पीडा प्रमाणित गर्न भिडियो सार्वजनिक गर्नुपर्ने अवस्था सिर्जना हुनु नै गम्भीर चिन्ताको विषय भएको बताए। यस्ता घटनामा दोषीको हैसियत वा प्रभाव नहेरी कानुनअनुसार कारबाही गरिने उनको प्रतिबद्धता छ।
गृहमन्त्री गुरुङले यौन हिंसाका पीडितलाई निर्भय भएर उजुरी दिन आग्रह गर्दै उजुरी दर्तामा कुनै अवरोध वा समस्या आए सम्बन्धित जिल्ला प्रहरी परिसर वा गृह मन्त्रालयलाई सिधै जानकारी गराउन अनुरोध गरेका छन्।
उनले यौन हिंसाका घटनामा राज्य पीडितको साथमा रहेको र कानुनी प्रक्रियामार्फत न्याय सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको पनि बताएका छन्।










Facebook Comments