काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो सांगठनिक संरचनामा महत्वपूर्ण परिवर्तन गर्दै वरिष्ठ नेताको संख्या निश्चित नराख्ने व्यवस्था गरेको छ। नयाँ विधानअनुसार अब पार्टी सभापतिको प्रस्तावमा आवश्यकता अनुसार एकभन्दा बढी वरिष्ठ नेता मनोनयन गर्न सकिने भएको छ।

चितवनमा असार ७ देखि १२ गतेसम्म सम्पन्न प्रथम महाधिवेशनबाट पारित चौथो संशोधित विधान–२०८३ ले वरिष्ठ नेता सम्बन्धी व्यवस्था परिमार्जन गरेको हो। यसअघि एक जना वरिष्ठ नेताको अवधारणा रहेकोमा संशोधनपछि सभापतिलाई आवश्यकताअनुसार वरिष्ठ नेता थप्ने बाटो खुला गरिएको छ।

ad

विधानअनुसार वरिष्ठ नेता मनोनयनका लागि सम्बन्धित व्यक्तिले पार्टीको नीति निर्माण, संगठन विस्तार तथा सुदृढीकरणमा दीर्घकालीन योगदान पुर्‍याएको र उच्च राजनीतिक अनुभव हासिल गरेको हुनुपर्नेछ। सभापतिको प्रस्तावपछि केन्द्रीय समितिले वरिष्ठ नेता मनोनयन गर्ने व्यवस्था गरिएको छ।

नयाँ व्यवस्थाअनुसार वरिष्ठ नेता पार्टीको मर्यादाक्रममा सभापतिपछिको दोस्रो स्थानमा रहनेछन्। यदि दुई वा सोभन्दा बढी वरिष्ठ नेता नियुक्त भएमा उनीहरूबीचको वरीयता केन्द्रीय समितिले निर्णय गर्नेछ।

रास्वपाले विधान संशोधनमार्फत वरिष्ठ नेताको पदलाई थप लचिलो बनाउँदै पार्टी नेतृत्वलाई आवश्यकताअनुसार अनुभवी नेताहरूलाई संगठनको शीर्ष तहमा समेट्ने अधिकार दिएको छ। यो व्यवस्थाले आगामी दिनमा पार्टीभित्र नेतृत्व व्यवस्थापन र जिम्मेवारी बाँडफाँटमा नयाँ अभ्यासको आधार तयार गर्ने अपेक्षा गरिएको छ।