
काठमाडौं । नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनको तयारीसँगै संस्थापन र इतर पक्षबीचको विवाद थप गहिरिएको छ। देउवा पक्षले पार्टी एकताका लागि नेतृत्वले आवश्यक लचकता नदेखाएको आरोप लगाउँदै सहमति नभए आफ्नै ढंगबाट महाधिवेशनको तयारी अघि बढाउने संकेत दिएको छ।
चुनदेवीस्थित सम्पर्क कार्यालयमा सोमबार बसेको इतर पक्षको बैठकले १४औँ महाधिवेशनबाट निर्वाचित १११ केन्द्रीय सदस्यलाई नयाँ संरचनामा समायोजन गर्नुपर्ने र सदस्यता अद्यावधिक नगरेकालाई स्वतः बाहिर राख्ने व्यवस्था स्वीकार्य नहुने अडान दोहोर्याएको छ। नेता मीन विश्वकर्माले नेतृत्वसँग सहमतिको प्रयास जारी रहे पनि एकता महाधिवेशनको सम्भावना कमजोर बन्दै गएको बताए।
उनका अनुसार पार्टी एकता प्राथमिकतामै रहे पनि त्यसका लागि आवश्यक राजनीतिक इच्छाशक्ति नेतृत्वबाट नदेखिएको निष्कर्ष बैठकले निकालेको छ। यदि सहमति जुट्न नसके राष्ट्रिय भेला बोलाउनेदेखि आफ्नै ढंगले १५औँ महाधिवेशनको तयारी गर्ने विकल्पमा पनि छलफल भइरहेको उनले जानकारी दिए।
यता सभापति गगन थापाले भने विधानविपरीत कुनै पनि निर्णय गर्न नसकिने स्पष्ट पारेका छन्। जापानस्थित जनसम्पर्क समितिको कार्यक्रममा भर्चुअल सम्बोधन गर्दै उनले महाधिवेशनको मिति, निर्वाचन समिति, अनुशासन समिति, सदस्यता छानबिन समिति तथा व्यवस्थापन समितिलगायत विषयमा छलफल गर्न आफू तयार रहेको बताए।
तर क्रियाशील सदस्यता अद्यावधिक नगरेका व्यक्तिलाई सहभागी गराउने वा विशेष महाधिवेशनपछि गठन भइसकेको केन्द्रीय समितिमा १४औँ महाधिवेशनका सबै निर्वाचित सदस्यलाई समेट्ने प्रस्ताव भने विधानअनुकूल नभएको उनको भनाइ थियो। उनले पार्टी एकतालाई कमजोर बनाउने गरी विधान मिच्न नसकिने स्पष्ट गर्दै महाधिवेशन निष्पक्ष र विधिसम्मत रूपमा सम्पन्न गराउने जिम्मेवारी नेतृत्वको भएको बताए।

इतर पक्षले भने चुनदेवीमा छुट्टै सम्पर्क कार्यालय स्थापना गरेर संगठनात्मक गतिविधि तीव्र बनाएको छ। पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सञ्चालन हुने उक्त कार्यालयबाट पार्टी एकताको पहल जारी राख्ने, तर आवश्यक परे वैकल्पिक रणनीति पनि अघि बढाउने निर्णय गरिएको छ।
बैठकले साउन ६ गते बीपी स्मृति दिवसका अवसरमा काठमाडौंमा बृहत् कार्यक्रम आयोजना गर्ने निर्णयसमेत गरेको छ। साथै, मंगलबार बस्ने बैठकबाट राष्ट्रिय भेला, महाधिवेशन तयारी तथा आगामी राजनीतिक कार्यक्रमको मोडालिटी तय गरिने जनाइएको छ।
कांग्रेसभित्र एकातिर नेतृत्वले विधानअनुसार सदस्यता अद्यावधिक र महाधिवेशनको प्रक्रिया अघि बढाइरहेको छ भने अर्कोतर्फ इतर पक्षले छुटेका नेता–कार्यकर्तालाई समेटेर ‘एकताको महाधिवेशन’ गर्नुपर्ने माग दोहोर्याएको छ। दुवै पक्ष आ–आफ्नो अडानमा कायम रहेकाले आगामी दिनमा संवाद सफल हुने कि विवाद अझै चर्किने भन्ने विषयले कांग्रेसको आन्तरिक राजनीतिलाई निर्णायक रूपमा प्रभावित गर्ने देखिएको छ।










Facebook Comments