
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको आर्थिक विकास र समृद्धिका लागि पुरानो पुस्ताको ज्ञान, अनुभव र सीप नयाँ पुस्तामा हस्तान्तरण गर्दै विज्ञान–प्रविधिसँग जोड्नुपर्ने बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले पुरानो पुस्ताको अनुभव र नयाँ पुस्तामा रहेको प्रविधिमैत्री ज्ञान तथा सीपलाई देशका उपलब्ध स्रोत–साधनसँग प्रभावकारी रूपमा जोड्न सके मात्रै समृद्धिको लक्ष्य हासिल गर्न सकिने धारणा व्यक्त गरे।
भट्टराईले पछिल्लो समय आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग निकट भएको भन्ने चर्चा भइरहे पनि आफ्नो उद्देश्य कुनै दल विशेष नभई विगत पाँच दशकदेखि उठाउँदै आएको विकास र समृद्धिको एजेन्डालाई अघि बढाउनु रहेको स्पष्ट पारे। उनले नयाँ पुस्ताले नेतृत्व गरिरहेको परिवर्तनको प्रयासमा पुरानो पुस्ताले अनुभव र ज्ञानमार्फत सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए।
उनले विकास र समृद्धिका लागि सबै राजनीतिक दल र नेतृत्वले दलगत स्वार्थभन्दा माथि उठेर साझा उद्देश्यका साथ अघि बढ्नुपर्ने बताए। पुरानो पुस्ताले आफ्नो अनुभव हस्तान्तरण गर्ने र नयाँ पुस्ताले विज्ञान तथा प्रविधिमा आधारित ज्ञानको उपयोग गर्दै देशका स्रोत–साधनको प्रभावकारी परिचालन गर्नुपर्ने उनको भनाइ थियो।
भट्टराईले विज्ञान र प्रविधिको वर्तमान युगमा केवल अधिकारको आन्दोलनका लागि निर्माण गरिएका परम्परागत राजनीतिक संगठनहरू समयानुकूल नहुने दाबी पनि गरे। उनका अनुसार बदलिँदो विश्व परिवेशअनुसार विकास, सुशासन र समृद्धिलाई केन्द्रमा राख्ने नयाँ राजनीतिक सोच र कार्यशैली आवश्यक छ।










Facebook Comments