काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संस्थापनइतर समूहले १४ औँ महाधिवेशनबाट आएका १११ केन्द्रीय समिति सदस्यलाई पनि वर्तमान समितिमा समायोजन गर्ने र क्रियाशील सदस्यता अद्यावधिक नगर्ने विषयलाई आफूले पूरा गर्न नसक्ने बताएका छन् ।

नेपाली कांग्रेसको संगठन जनसम्पर्क समिति जापानको अधिवेशनमा भर्चुअल सम्बोधन गर्दै सभापति थापाले सदस्यता छानविन समिति, निर्वाचन समिति, अनुशासन समिति र महाधिवेशन व्यवस्थापन समिति इतर पक्षले चाहे अनुसारको बनाउन आफू तयार रहेको स्पष्ट पारे ।

ad

उनले भने– ‘विधानले जुन कुरा दिन्न त्यो कुरा मैले चाहेर पनि मैले गर्न सक्दिन । एउटा, नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक नगरीकन चलाऊँ भन्ने कुरा नेपाली कांग्रेसको विधानमै भएको व्यवस्थाको बर्खिलाप हुन्छ त्यो अव्यवहारिक पनि हुन्छ त्यो अराजनीतिक पनि हुन्छ । अर्को सभापतिले पाएको अधिकार अनुसार बढी भन्दा बढी साथीहरुलाई सहभागी गराउने कुरा यो जिम्मेवारी कुरा म गरिहाल्छु । तर यो अघिल्लो केन्द्र समितिको एक सय कति जना बाँकी हुनुहुन्छ त्यो सबै साथीहरुलाई ल्याएर यसमा मिसाउनु पर्छ भन्ने कुरा चाहिँ त्यो विधानले नदिने कुरा गर्नु पनि हुदैन ।’ 

सभापति थापाले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनलाई सबैको बनाउनको आफू तयार भएको पनि प्रष्ट पारे ।